धनकुटा/ नेपाल तामाङ घेदुङ छथरजोरपाटी गाउँपालिका घेदुङको सोमबार सम्पन्न प्रथम अधिवेशनले मनकुमारी गोले तामाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष सीताराम थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम गाउँपालिका अधिवेशनले घेदुङको उपाध्यक्षमा चूडामणि घिसिङ्ग तामाङ, सचिवमा भैरव योञ्जन तामाङ, सह–सचिवमा सुरज गोम्देन तामाङ र कोषाध्यक्षमा मीनाकुमारी वाइबा तामाङलाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाको आयोजनामा सम्पन्न भएको प्रथम अधिवेशनले १३ सदस्यीय छथरजोरपाटी गाउँपालिका घेदुङ गठन गरेको छ । घेदुङको सदस्यहरूमा मोहन ल्हो तामाङ, वीरबहादुर घिसिङ तामाङ, कल्पना मोक्तान तामाङ, जङ्गबहादुर ख्युङ्गवा तामाङ, वीरबहादुर पाख्रीन तामाङ, गोविन्द बम्जन तामाङ र हरिराम बम्जन तामाङलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष मनकुमारी गोले तामाङले बताइन् ।
नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई बधाई दिँदै जिल्ला घेदुङका अध्यक्ष सीताराम थिङ तामाङले तामाङ समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणको लागि गाउँ–गाउँमा घेदुङ गठन गर्नुपरेको बताए । उनले छथरजोरपाटी गाउँपालिकाको ६ वटै वडामा छरिएर रहेका तामाङ वन्धुहरूलाई एकै थलोमा भेला पारेर आफ्नो भाषा संस्कार, संस्कृति र हकअधिकारको बारेमा छलफल गर्नको लागि घेदुङ गठन गर्नुपरेको बताए । तामाङले अहिलेको युवापुस्तालाई बढीभन्दा बढी तामाङ संस्कार र संस्कृतिको बारेमा ज्ञान दिनुपर्ने आजको आवश्यकता रहेको आैंल्याए ।
स्थानीय सरकारहरूलाई भाषा, संस्कार र संस्कृतिको क्षेत्रमा लगानी गर्न तामाङले अनुरोधसमेत गरेका छन् । सो अवसरमा छथरजोरपाटी गाउँपालिकाका तामाङ समुदायका अगुवाहरू टेकबहादुर तामाङ, चूडामणि तामाङ, वीरबहादुर तामाङ र हरिराम तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला घेदुङका सचिव सन्तवीर मोक्तान तामाङले गरेका थिए ।