नाटक प्रदर्शन वा प्रस्तुत्यकला (The Performing Arts) को एक रूप हो । अझ नाटकलाई प्रस्तुत्य कलाहरूको पूर्ण रूप मान्न सकिन्छ, किनकि यसमा नृत्य, अभिनय, गीत, सङ्गीत, चित्रकला सबै समाहित हुन्छन् । साहित्यिक विधागतरूपमा साहित्यको चरमोत्कर्ष मानिने नाटक आफैमा संस्कृतिको एक अङ्ग र संस्कृति निर्माणको प्रक्रिया पनि हो । यो युगचेतनाको द्योतकमात्रै होइन, जीवनहरूको खोजी पनि हो । मानव सभ्यताको विकाससँगै उद्भव भएर मानव जीवनका हरेक सुख–दुःख, हर्ष, विस्मात्, द्वन्द्व, शान्ति, सङ्घर्ष र सभ्यतासँगै आजसम्म अनवरत सम्बद्ध नाटक र नाटकको प्रस्तुत्यस्थलको रूपमा रहेको रङ्गमञ्च लोक जीवनसँग गाँसिएको एक जीवन्त सांस्कृतिक अन्तरक्रिया हो । स्थुलरूपमा रङ्गमञ्च भौतिक संरचना भए पनि सूक्ष्मरूपमा यो प्रविधिसहित विचार, दर्शन, सौन्दर्यशास्त्र, परिवर्तनको संवाहक पनि हो ।

‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भनेजस्तै कला, नाटक र रङ्गमञ्चको महत्व र उपादेयता नबुझ्ने राज्यहरूले कलाक्षेत्रलाई ‘बेरोजगार र बेकामेहरूको झुण्ड’ मात्र ठान्ने वा त्यस्तै बनाउने काम गरिरहेका हुन्छन् । त्यसैले नेपाललगायत कतिपय देशमा कला, नाटक र रङ्गमञ्चलाई उत्पीडित र उपेक्षित क्षेत्रमा रूपान्तर गरिएको छ । तर अमेरिका, रुस, युरोपियन युनियनका सबै देशहरूमा कला, नाटक र रङ्गमञ्चलाई संस्कृतिको संवाहक र पुस्तान्तरणकर्ता मानेर संरक्षण र विकासको नीति बनाएर पर्याप्त ‘फण्ड’ प्रदान गर्ने अर्थात् वित्तीय सहयोग दिने गरेका छन् र आफ्नो देशको जिडिपी (कुल गार्हस्थ उत्पादन)मा योगदानकर्ताको रूपमा समेत विकसित गरेका छन् । कलालाई किन संरक्षण गर्नुपर्छ भन्ने बारे अमेरिकी सरकारको नीतिमा भनिएको छ :

"Artists form the foundation of a state’s creative environment. Artists act as creators and individual entrepreneurs who provide many of the products and designs that drive innovation and shape a state’ cultural character. Many artists also work as educators, providing training in creative skills and passing on cultural traditions from one generation to the next......So State arts agencies play an important role in offering resources, information and training programs that help artists develop their careers, market their products and share their ideas with others."

‘कलाकारहरूले राज्यको रचनात्मक वातावरणको जग राख्ने काम गर्दछन् । कलाकारहरूले निर्माता अनि व्यक्तिगत उद्यमीको रूपमा कार्य गर्दछन्, जसले कयौँ उत्पादन र डिजाइनहरू प्रदान गर्दछन्, जसले नवपरिवर्तन ल्याउँछन् र राज्यको सांस्कृतिक चरित्रलाई आकार दिन्छन् । कलाकारहरूले सांस्कृतिक शिक्षकको रूपमा पनि काम गर्दछन्, रचनात्मक कौशलमा प्रशिक्षण प्रदान गर्दछन् र एक पिँढीदेखि अर्को पिँढीसम्म सांस्कृतिक परम्पराहरूलाई हस्तान्तरण गर्दछन् ।......त्यसैले राज्यका कला एजेन्सीहरूले संसाधन, सूचना र प्रशिक्षण कार्यक्रमहरू प्रदान गर्नका लागि महत्वपूर्ण भूमिका निभाउँछन्, जसले कलाकारहरुलाई आफ्नो ‘करियर’ विकसित गर्न, आफ्ना उत्पादनहरू बजारमा ल्याउन र आफ्ना विचारहरूलाई अरुसँग साझा गर्नमा मद्दत पुर्याउँछ ।’

अमेरिकामा हरेक राज्यमा कला विकासको नीति र योजनाहरू बनाइएका छन् । यसैगरी युरोपियन युनियनका सबै देशहरूमा कलाका हरेक रूपहरू (नाटक, रङ्गमञ्चसहित) राज्यस्तरबाटै संरक्षण, विकास र प्रवद्र्धनका लागि ‘फण्ड’ अर्थात् वित्तीय सहयोग दिन्छन् । अझ रुसमा त विशेषरूपमा नाटक र रङ्गमञ्चको विकासका लागि नगरपालिकाहरूबाटै नीति तथा योजना बनाएर वित्तीय सहयोग प्रदान गरिन्छ । सङ्घीय सरकारका साथै स्थानीय निकायसम्मै रङ्गमञ्च विकासका लागि संरचनागत पक्षमा समेत सहयोग दिइन्छ । रूसी थिएटर (रङ्गमञ्च)हरूलाई दुई श्रेणीमा विभाजित गरिएको छ, राज्य वा नगरपालिका थिएटर र निजी थिएटर । राज्य र नगरपालिका थिएटर (रङ्गमञ्च) पनि गैर–व्यवसायिक सङ्गठन, बजेट–आधारित सङ्गठन र राज्य–स्वामित्व भएका वा स्वायत्त सङ्गठनमा विभाजित छन् । निजी थिएटर (रङ्गमञ्च) पनि व्यावसायिक र गैर–व्यावसायिक सङ्गठनको रूपमा विभक्त छन् । सोहीअनुसार सङ्घीय तथा राज्य सरकारका साथै स्थानीय सरकारले वित्तीय सहयोग गर्दछन् ।

कला, नाटक र रङ्गमञ्चको विकास दृष्टान्त स्वरूप प्रस्तुत माथिका उद्धरणहरूले के स्पष्ट पार्दछ भने कला, नाटक र रङ्गमञ्चको संरक्षण, विकास र प्रवद्र्धनमा राज्यको पहिलो भूमिका हुन्छ । किनकि यो संस्कृति र सभ्यताका पारिचायक हुन् । देशको पहिचानका आधारहरू पनि हुन् । त्यसपछि मात्र व्यावसायिकताको कुरा आउँछ । यी उद्धरणहरूलाई दृष्टिगत गरी भर्खरै सङ्घीयतामा प्रवेश गरेको हाम्रो देश नेपालका सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले पनि कला, नाटक र रङ्गमञ्चको दायित्व लिएर यसको व्यावसायिक विकासका लागि सम्भावनाको खोजी गर्नु बाञ्छनीय देखिन्छ ।

यसैक्रममा प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य, कला र संस्कृतिका लागि सुझाव दिन स्वतन्त्र एवम् प्रबुद्ध व्यक्तित्व प्रा.डा.टङ्क न्यौपाने संयोजक रहने गरी १३ सदस्यीय कार्यदल गठन गरेको स्वागतयोग्य कुरा छापामा आएको छ । कला तथा साहित्यका क्षेत्रमा समर्पितहरूका लागि यो सुखद् समाचार हो । २ महिनाभित्र प्रतिवेदन पेश गर्ने म्याद दिइएको कार्यदलका संयोजक प्रा.डा.न्यौपानज्यूले एकेडेमीसम्बन्धी कार्यविधि, ऐन, नियम कस्तो बनाउने भनेर सुझाव दिने गरी गठित कार्यदलको सुझाव प्रतिवेदनअनुसार प्रादेशिक एकेडेमी बन्ने र यो प्रादेशिक सरकारको महत्वपूर्ण कदम भएको पनि बताएका छन् । कार्यदललाई म एक नाट्यकर्मीको हैसियतबाट कार्य सफलताको शुभकामना व्यक्त गर्दछु ।

र, आजको मेरो यो रङ्गमञ्चसम्बन्धी लेख पनि त्यसैसँग सम्बन्धित रचनाको पहिलो कडी हो । संयोजक प्रा.डा.न्यौपानज्यूले सुझाव सङ्कलन गर्ने क्रममा मलाई भेटेर रङ्गमञ्चसम्बन्धी सुझावहरू लिखित रूपमा दिन आग्रह गर्नुभएको थियो । मैले उहाँको आग्रहअनुसार आफ्नो विकेक, अनुभव र अध्ययनका आधारमा सुझाव पनि टक्र्याएँ । यो लेख त्यसै सुझावको विस्तृतीकरण हो । जुन निम्न प्रकार रहेका छन् :–

सुझावहरू
१. सबैभन्दा पहिले रङ्गमञ्चको महत्व, आवश्यकता र दायित्वबारे प्रदेश सरकारले अनुबोध गर्नु आवश्यक छ ।
रङ्गमञ्चलाई प्रदेश सरकारले भौतिक संरचनामात्रै होइन, यो त संस्कृति निर्माण र युगचेतनाको संवाहकको रूपमा बुझ्नु पर्दछ । यसको भावनात्मक रूपलाई आत्मसात गरी देश, समाज, मानव सभ्यता, सौन्दर्यशास्त्र, युगचेतना, परिवर्तन, सकारात्मक दिशाबोध गराउने सन्दर्भमा रङ्गमञ्चले गर्ने रचनात्मक कार्यहरू अनुबोध गर्नु पर्दछ ।

२. त्यसपछि, सरोकारवालाहरूसँग व्यापक बहस र अन्तरक्रिया गरी रङ्गमञ्चको विकास गर्ने नीति निर्माण गर्नु पर्दछ । नीति निर्माण गर्नु भनेको रङ्गमञ्चको विकासका मार्गचित्र निर्माण गर्नु हो । नीति निर्माण गरिएपछि त्यसकै आधारमा योजनाका खाकाहरू तर्जुमा गर्नु पर्दछ ।

३. योजनाका खाकाहरू तयार गर्दा पनि सरोकारवालाहरूसँग छलफल गरिनु पर्दछ ।
योजनाका खाका तबमात्रै व्यावहारिक र कार्यान्वयनयोग्य हुन सक्छन्, जब सरोकारवालाहरूसँग उनीहरूको समस्या, अभाव र आवश्यकताहरूबारे सूक्ष्मरूपमा छलफल गरिन्छ ।

४. नीति तथा योजना निर्माणका लागि प्रदेशभरि विगत र वर्तमानमा रहेका नाट्य संस्थाहरूको अवस्था र संख्या सङ्कलन गरिनुपर्दछ ।
विगतमा रङ्गकर्म तथा नाटक गरेका नाट्य संस्थाहरूको इतिहास, बन्द हुनुका कारक तत्वहरू र वर्तमानमा काम गरिरहेका नाट्य संस्थाहरूको तथ्याङ्कले नै नीति तथा योजना बनाउने काममा सहयोग प्राप्त हुन्छ । यसबाट अब कस्तो नीति र योजना बनाएमा रङ्गमञ्चको विकास हुनसक्छ भन्ने अवधारणा बनाउन सकिन्छ ।

६. नीतिगत योजनाहरू निम्नअनुसार तयार गरिएमा प्रदेशमा रङ्गमञ्चको विकास गर्न सकिनेछ :

(क) प्रदेश सरकारले एक प्रदेशस्तरीय सङ्गीत तथा रङ्गमञ्च एकेडेमी स्थापना गर्नु पर्दछ । सो एकेडेमीमातहत रहने गरी एउटा प्रदेशस्तरीय सुविधासम्पन्न नाटकघर÷थिएटर हल बनाउनु पर्दछ । तर, एकेडेमीमा राजनीतिक भर्तीकेन्द्रका रूपमा नियुक्तिप्रथालाई निस्तेज गरिनु पर्दछ ।

(ख) रङ्गमञ्चसम्बन्धी नीति तथा योजनाहरू बनाउन र त्यसलाई कार्यान्वयन गर्न स्थानीय गाविस तथा नपास्तरीय सरकारहरूसँग सहकार्य गराउने गरी प्रदेशस्तरीय विधेयक पारित गरिनु पर्दछ । विधेयकमा स्थानीय सरकारबाट पनि रङ्गमञ्च विकासका लागि बजेट विनियोजन गर्ने व्यवस्था गरिनु पर्दछ ।

(ग) प्रदेश सरकारले नाटकघर÷थिएटर हल निर्माण, संरक्षण र त्यसको निरन्तर सञ्चालनलाई आफ्नो दायित्वको रूपमा लिई सकेसम्म हरेक नगरपालिकामा एउटा नाटकघर/थिएटर हल बनाउने नीतिगत योजना आख्तियार गर्नु पर्दछ । सम्पन्न र समृद्ध गाविसलाई पनि यसमा समावेश गर्न सकिन्छ ।

(घ) रङ्गकर्मलाई निरन्तरता दिन रङ्गमञ्चलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने लक्ष्यअनुरूप निजी तथा विभिन्न नाट्यसंस्थाद्वारा निर्माण गरिने नाटकघर÷थिएटर हल निर्माण कार्यलाई पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नु पर्दछ ।

(ङ) नाटकघर/थिएटर हल निर्माणका साथै प्रदेश सरकारले भारतमा नेशनल स्कुल अफ ड्रामा (ल्क्म्) भएजस्तै एउटा प्रदेशस्तरीय रङ्गमञ्चीय (अभिनय, निर्देशन तथा प्राविधिक पक्षहरूसम्बन्धी) प्रशिक्षण केन्द्र स्थापना गर्नु पर्दछ ।

(च) प्रदेशस्तरमा नाटक र रङ्गमञ्चको विकास गर्नका लागि प्रदेशका मावि तथा कलेजहरूमा अतिरिक्त क्रियाकलापअन्तर्गत नाटक मञ्चनलाई ‘अनिवार्य विषय वा क्रियाकलाप’ घोषणा गरी अगाडि बढाइनु पर्दछ । यसबाट स्कुल वा कलेजबाटै रङ्गमञ्चप्रति आकर्षण बढ्ने र प्रतिभा प्रस्फुटन हुने वातावरण सिर्जना हुनेछ । साथै, नाटकलाई शिक्षाको सशक्त तथा रचनात्मक माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ ।

(छ) रङ्गकर्मीहरूलाई रङ्गमञ्चीय कार्य निरन्तर अगाडि बढाइरहन आर्थिक रूपले सहयोग पुगोस् भन्ने हेतुले उनीहरूको शैक्षिक योग्यताका आधारमा प्रदेश सरकारका विभिन्न निकायहरूमा सरकारी नियुक्तिको व्यवस्था गरिनु पर्दछ ।

(ज) प्रदेशमा विगतदेखि रङ्गमञ्चको विकासमा महŒवपूर्ण योगदान दिइरहेका अग्रज तथा वरिष्ठ रङ्गकर्मीहरूलाई सम्मान तथा अभिनन्दन गर्ने परम्परा शुरु गरिनु पर्दछ ।

(झ) नाटक वा रङ्गमञ्चीय विषयमा अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने रङ्गकर्मीहरूलाई सशर्त रूपमा स्कलरसिपको व्यवस्था गरिनु पर्दछ ।

(ञ) जातीय तथा सांस्कृतिक विविधता भएको प्रदेश नं. १ मा परम्परागत रूपमा चल्दै आएका लोकनाटक शैली (Folk Drama) र त्यसका विविध रूपहरू (गीती, नृत्यात्मक, साङ्गीतिक रूपहरू) को खोजी गरी संरक्षण गर्नुका साथै त्यसको विकासका लागि आवश्यक पहलकदमी बढाउनु पर्दछ ।

(लेखकः आरम्भ नाट्य डबली, धरानका अध्यक्ष हुन् ।)