फागु पर्व असत्यमाथि सत्यको विजयका रूपमा पौराणिककालदेखि मनाइने भए पनि पछिल्ला समयमा यसका नाममा धेरै विकृति बढिरहेको छ । साथीभाइसँग खुशी साट्ने दिनका रूपमा मनाउने होली शत्रुसँग रिसईबी साध्ने माध्यमदेखि नशालु पदार्थमा मात्नै पर्छ भन्नेसम्मको सोच विकास हुँदैछ । होलीका नाममा विकृति बर्सेनी बढ्दो छ । जुन हामीले बर्सेनी देख्छौं । होलीका नाममा अरुको इच्छा विपरीत रङ लगाउने, फोहोर वस्तुले हान्ने, मादक पदार्थ सेवन गरी सडकमा जथाभाबी सवारी साधन चलाउनेदेखि ग्याङफाइटसम्म भएका छन् ।
 
यही वर्ष धरानका निमा तामाङको होलीकै दिन मृत्यु भयो । होली विशेषगरी युवतीका लागि त्रासको पर्वका रूपमा विकसित हुन थालेको छ । महिला अधिकारवादीहरूले ठूला–ठूला भाषण र नाराका कुरा गरे पनि यसतर्फ खासै चासो दिएको पाइँदैन । होली विजयको हर्षोल्लासका रूपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाउने होली किन विकृतिमय बन्दै छ ? युगौंदेखि मनाइँदै आएको फागु पर्वलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गी–बिरङ्गी रङ एकापसमा लगाएर वातावरणलाई नै रङ्गीन बनाई बडो हर्षोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीबाट गरिने उच्छृङ्खल क्रियाकलापका कारण यो पर्व त्रासको रूपमा परिणत भएको पक्का हो । फागु पर्वलाई अहिलेका युवापुस्ताले समय र स्थान अनुकूल पर्वको महŒव बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्न खोज्दा होलिका जलेर मृत्यु भएको तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको खुशीयालीमा होली पर्व मनाउन थालिएको कथन छ ।   
 
खर्चिलो बन्दै होली 
उत्साहका साथ मनाइने होली खर्चिलो बन्दै गएको छ । दशैंमा जस्तै नयाँ कपडा, मासु, मदिरा, मिठाई र मिष्ठान्न भोजनमा हुने खर्च अनुमानभन्दा बढी हुन थालेको छ । गरिबले पनि होलीमा सकी नसकी खर्च गर्छन् । रङ लगाएर मनाइने होलीका लागि सेतो वस्त्र लगाउने चलन छ । त्योसँगै होलीमा अनिर्वाय मात्नै पर्ने नियम जस्तै अधिकांश युवापिँढी मादक पदार्थमा लठ्ठ हुने गरेका छन् । भाङका लड्डु र मादक पदार्थ खाने साना–साना उमेरकै धेरै देखिन थालेका छन् ।
 
आधुनिकतासँगै होलीलाई खाने पिउने पर्वका रूपमा लिन थालिएको छ । बालबालिका पिचकारीमा, युवा खानपानमा र वयस्कले रङ दलेर होली मनाउने गरेका छन् । ‘वर्षभरि अनेक कारणले हुने मनमुटाव होलीका बेला रमाइलो गरेर सक्ने भन्ने चलन भए पनि अहिले देखासिकीमा सीमित हुन थालेको छ । वर्तमान समयमा होली अथवा फागु पर्वको ऐतिहासिक तथा सांस्कृतिक महŒवप्रति आँखा चिम्लिएर विकृत रूपको मनोरञ्जनात्मक पर्वका रूपमा मनाउने चलन क्रमशः र विकसित हुँदै गइरहेकाले पनि आफूहरू यसको मौलिकतालाई जोगाउन लाग्नुको विकल्प छैन । एक–अर्काप्रति आत्मीयता प्रदर्शन गरेर रङ दल्दै मनोरञ्जन गर्ने पर्व हिजोआज अरूलाई दुःख र पीडा दिएर आत्मसन्तुष्टि लिने परपीडक पर्वमा परिणत हुँदै गएको छ भन्दा फरक नपर्ला । 
 
रिमिक्स होली
होलीका अवसरमा आयोजना हुने कार्यक्रम तथा कन्सर्टहरूमा रिमिक्सले स्थान पाउन थालेको छ । त्यहाँ छोटा कपडामा डिस्को हुन्छन्, त्यहाँ युवाहरू झुम्मिन थालेको देख्दा अहिले होली, होली हैन कि गाँजा, भाङ, धतुरो खाएर अङ्ग प्रदर्शन गर्ने दिन जस्तो बनेको छ भन्दा फरक पर्दैन होला । हुन पनि हो ‘युवाहरूको चाहना भनेको रक र रिमिक्सतर्फ छ, अब पुराना भाका खोजेर कहाँ हुन्छ र ? तर समाजमै आपाच्य डिस्कोले आज हाम्रो समाज कहाँ पुर्याउँदै छ, त्यो भने अहिलेको पिँढीले पनि सोच्ने बेला आएको छ । होलीमा केटाहरूलाई केटी र केटीहरूलाई केटा भेटेर रोमान्स गर्ने सजिलो दिनसमेत हुँदो रहेछ । मादक पदार्थ सेवन गर्नेहरूमा अहिले युवाभन्दा पनि युवतीहरूको सङ्ख्या बढ्न थालेको देखियो ।
 
हिजोआज गीतका शब्दमा अश्लीलता र छाडापन पाउन थालेको छ । पौराणिक होली गीतहरूमा ग्रामीण परिवेश, सीता र राम, शिव पार्वतीका साथै प्रेमालापमा केन्द्रित भएर गाउने गरिन्थ्यो तर अहिले ती होलीका गीतहरु लोप भएका छन् । सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको प्रष्ट छ । सम्पूर्ण नेपाली जनमा हर्षोल्लास साथ रङ दलेर शुभकामना साटासाट गर्दै मनाउनु पर्ने होलीले प्रत्येक वर्ष एउटा गुनासो छोडेर जान्छ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । 
 
होलीको यो सन्देश
होलीसँग सम्बन्धित प्रायः सबै पौराणिक कथाका घटना हेर्दा असत्य, अत्याचार, शोषणको अन्त्य तथा सत्मार्गतर्पm लागेकाको विजय भएको खुशीयालीको रूपमा ‘होली’ पर्व मनाउने चलनको शुरुवात भएको देखिन्छ । यसले एकातिर धार्मिक आस्था, विश्वास तथा सत्मार्ग देखाएको छ भने अर्काेतिर असत्यको कहिल्यै विजय नहुने, शोषण गर्नेहरू आफै पतन हुने सामाजिक तथा धार्मिक सन्देश दिएको छ ।
 
यसर्थ प्राचीनकालमा सुख, शान्तिका विरुद्धमा हुने आतङ्क शोषण र भयको निराकरणका लागि राक्षसी प्रकृतिलाई भगाउनका लागि फागु पूर्णिमाको दिनमा अग्निकुण्डमा आगो बालेर आपसमा रमाइलो, नाचगान, सद्भाव, साटासाट गर्दा राक्षस र राक्षसी भाग्ने जनविश्वासका आधारमा होली खेल्ने चलनको शुरुवात भएको देखिन्छ । यसै पनि रातो तथा रङ विजय तथा खुशीयालीको प्रतीक भएकोले यी जनविश्वास यथार्थका नजिक छन् । नेपालमा होली (फागु) को शुरुवात प्राचीनकालबाटै भएको इतिहासकारले उल्लेख गरेका छन् । लिच्छिवीकाल, मल्लकाल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ ।