दमक/ प्रदेशको हिमाली क्षेत्रका शेर्पा जातिदेखि तराईका राजवंशीसम्मको सामूहिक कार्यपत्र दमकमा प्रस्तुत हुने भएको छ ।
आगामी चैत १७ गतेदेखि १९ गतेसम्म आयोजना हुने प्रदेशस्तरिय बृहत् वाङ्मय सङ्गोष्ठीमा ती कार्यपत्र प्रस्तुत गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गर्ने सङ्गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने समेत जनाइएको छ । दमक नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले जातीय कार्यपत्रसँगसँगै जातीय सांस्कृतिक झाँकीसमेत कार्यक्रममा प्रस्तुत हुनेछ ।
तीन दिनसम्म चल्ने सङ्गोष्ठीमा चैत्र १८ गते किरात मुन्धुमको कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिशचन्द्र लावतीले प्रस्तुत गर्ने जनाइएको छ । त्यसैगरी सोही दिन कोशी प्रश्रवणक्षेत्रको हिमाली जनजीवनसम्बन्धीको कार्यपत्र राजेश्वर थापाले प्रस्तुत गर्नेछन् । सोही दिनकै तेस्रो कार्यक्रममा कोशी प्रश्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिने छ । यो कार्यपत्र भने विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका संस्कृति विभाग प्रमुख प्राज्ञ डा. सोमप्रसाद खतिवडाले गर्नेछन् ।
त्यस्तै सोही क्याम्पसका समाजशास्त्र विभागका विभागाध्यक्ष डा. डिल्ली प्रसाईंले तयार पारेको नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्धसँग सम्बन्धी तयार पारिएकोे कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । कार्यक्रमको तेस्रो अर्थात् अन्तिम दिन दमक क्याम्पसका क्याम्पस प्रमुख उत्तम भट्टराईले सन्थाल लोकसाहित्यको वर्तमान स्वरूपसँग सम्बन्धित तयार पारिएको कार्यपत्र र डा. सोमबहादुर धिमालले धिमाल लोकसाहित्यका बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम उद्घाटनकै दिन प्रधानमन्त्री ओलीले दमक नगरपालिकाको नवनिर्मित भवनको अनावरणसमेत गर्ने नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।