धरान/सुनसरीको चतरामा चैत २३ देखि सुरु हुन लागेको एक महिने अर्धकुम्भ मेलाका लागि एक नम्बर प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने भएको छ ।
शुक्रबार चतरामा भएको कुम्भमेला तयारी सम्बन्धि सर्वपक्षिय छलफलमा बोल्दै एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कुम्भमेला सफल बनाउन प्रदेश सरकारले आर्थिक, भौतिकदेखि सम्पूर्ण सहयोग गर्ने बताए । उनले कुम्भको सफलताका लागि सबै स्थानीय तह, निजी क्षेत्र र सरकारी क्षेत्रलाई परिचालन गरिने बताए । उनले चैत २० सम्ममा चतरा पुग्ने चारैतिरका सडक मर्मत गरिसक्ने र विभिन्न नाकादेखि नै प्रवेशद्वारा राखिने बताए ।
प्रदेशले शौचालयका लागि २० लाख छुट्याएको छ भने अन्य कामका लागि पनि बजेटको व्यवस्था गरिने उनले बताए । कार्कीले छलफलमा भने, ‘हामी सबै प्रकारका सहयोग गर्छौं । आर्थिक स्रोतका लागि कुनै चिन्ता गर्नु पर्दैन ।’ प्रदेश सरकारले कुम्भका लागि प्रदेशका प्रमुख सचिव केदार न्यौपानेलाई चतरामै बसेर काम गर्ने व्यवस्था मिलाएको छ । प्रमुख सचिव न्यौपानेले कुम्भका लागि आफु पुरै खटेर लाग्ने बताए ।
कुम्भकै लागि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटापनि चतरा आईपुगेका छन् । उनले कुम्भको प्रचार प्रसारमा जोडदिनु पर्ने बताए । छलफलमा प्रदेशसभा सदस्य विमल कार्कीले हिन्दु धर्मावलम्बीहरुका संसारमा ५ कुम्भ हुने कुरा स्थापित गराउन लागि पर्ने बताए । कार्यक्रममा सुनसरीका एसपी राजन अधिकारीले मेलामा सुरक्षा र उद्धार लगायतका लागि १४ वटा योजना बनाईएको बताए ।
छलफलमा गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेशका अध्यक्ष ताराबहादुर काफ्ले, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिका चौधरी, बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेति लगायतले कुम्भलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । कुम्भमेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेला सफल बनाउन सहयोगका लागि सबै समक्ष आग्रह गरे ।
वैशाख २४ सम्म लाग्ने अर्धकुम्भमा चैत २६, वैशाख ६, २१ र २४ गते हुने स्नानमा देशविदेशका करोडौं हिन्दु धर्माबलम्बि सहभागी हुने आयोजकको विश्वास छ । चतरामा २०५९ सालमा पहिलोपटक कुम्भ मेला लागेको थियो । त्यसपछि २०६३मा अर्धकुम्भ र २०७०मा पूर्णकुम्भ लागेका थिए ।