असीले डाँडो काटिसकेको छ । तैपनि रातो, पिरो र ‘डटफट’ देखिन्छन् । काठमाडौंमा हुने अधिकांश कला कार्यक्रमहरूमा प्रायः प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिने उनी हरपल नेपाली पोसाक लगाउँछन् र काँधमा गल्फन भिर्छन् । उनी नेपाली कला वृत्तमा प्रथम आधुनिक (अमूर्त) कलाकार गेहेन्द्रमान अमात्य भनेर चिनिन्छन् । किनकी सबैले भन्ने गर्छन्, ‘नेपाली कलाक्षेत्रलाई सबैभन्दा पहिले अमूर्त कलाको आभास उनकै कलाले दिएको हो ।’
कलाकार गेहेन्द्रमान अमात्यले २०१२ ताका नेपाल–भारत सांस्कृतिक केन्द्रमा अमूर्त कलाको प्रथम प्रदर्शनी गरेर जनमानसबीच अमूर्तकलाको प्रचार गरेका थिए । यो भन्दाअघि नेपाली जनमानसलाई यो विधासम्बन्धी कुनै सङ्केत वा जानकारी नै थिएन । विश्व प्रसिद्ध कलाकार कान्दस्कीले जन्म दिएको अमूर्त कला शैली अन्य शैलीको दाँजोमा जटिल र गम्भीर लाग्छ । कलाकारलाई यसमा काम गर्न धेरै कामको अनुभव पार गर्नुपर्छ भने दर्शकलाई यो शैली पचाउन ठूलै कसरत गर्नुपर्छ । किनकी यसले अन्य शैलीले जस्तो बिम्ब वा आकृतिसँग सरोकार राख्दैन ।
अरूपणबाट रूपणको आभास दिन र लिनसक्ने महत्ता अमूर्त कलाका विशेषतामध्येका हुन् । अमूर्तकलाको सन्दर्भमा अमात्यको आफ्नै दृष्टिकोण छ । उनी यसलाई कलाकारको संवेग र दर्शकले प्राप्त गर्नसक्ने अनुभूतिजन्य मिठास भन्छन् । कुनै विश्वविद्यालयबाट शिक्षा नलिएका उनले यो विधामा काम गर्न कसरी जाने ? उनी भन्छन्, ‘मैले यो कला २००८ सालमा नेपाल आएका फ्रेन्च चित्रकार नेकोलाई मिचायुच्किनसँग सिकेको हुँ । पछि एलेक्स वाल्डर मानन भन्ने अर्मूत कलाकारको सङ्गतमा परेपछि यसलाई निरन्तरता दिँदै आएको छु ।’
अमूर्तको अलावा उनको आधुनिक कलाका अन्य शैली र वादमा पनि हात चलाएका छन् । आजसम्म उनले ४ हजार भन्दा बढी अमूर्त, अर्धअमूर्त, ज्यामितीय र अभिव्यञ्जना शैलीका चित्रहरू बनाइसकेका छन् । उनका चित्र विषयवस्तुहरू समयकालका प्रतिबिम्ब हुने गर्छन् । २०११ सालमा र जनआन्दोलन–२ ताका बनाइएको चित्र समय प्रभावले जन्माएको प्रतिनिधि उदाहरण हुन् । उतीबेला बनाइएका ती अभिव्यञ्जनावादी शैलीका चित्रहरूमा हिटलरको हिंसा र जुद्ध शमसेरको क्रुरतालाई इङ्गित गरिएको छ । र जनआन्दोलन–२ ताका बनेको चित्रमा पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन व्यवस्थामाथि व्यङ्ग्य छेडेको छ ।
कला स्टुडियोमा राखिएका कतिपय चित्र विषयहरू आतङ्क, हिंसा, पीडा, शान्ति जस्ता सामाजिक, व्यवहारिक र मानसिक विकृति र विसङ्गतिहरूसँग सम्बन्धित छन् । चित्रमा यदाकदा मिथकीय प्रतीकहरूलाई आत्मसात गर्दै रातो रङलाई हिंसा, निलोलाई शान्ति र खैरोलाई दारिद्र्यताको प्रतीकको रूपमा प्रयोग गरिएको छ । सौन्दर्यताका निम्ति केही चित्रहरूमा विविध रङको पनि प्रयोग भएको छ । कडा तुलिका ‘स्ट्रोक’ को प्रयोग र गठिलो रेखा र गाढा रङ्ण्ण् समयोजनको उत्कृष्ट नमूना उनको क्यान्भास पहिचान हो । साथै चित्रमार्फत् मानव समुदायको नालीबेली कोर्नु उनको कला विशेषता हो । अधिकांश क्यान्भासमा मान्छे, मान्छेका खप्पर, सिङ, हाडखोर, बन्दुक र परेवाहरू छन् । जसलाई उनी वर्तमान हिंसात्मक विश्वसमुदायको प्रतीक ठान्दछन् र क्यान्भासबाट शान्तिको कामना गर्छन् ।
१९९४ मा खिचापोखरीमा जन्मेका अमात्यले २०१२ देखि आजसम्म लगभग तीन दर्जन एकल र सयौं सामूहिक प्रदर्शनीहरू गरिसके । नेपालका विशिष्ट क्षेत्र, भवन, सङ्ग्रहालय, विदेशी नियोग र विदेशी सङ्ग्रहालयहरूमा उनका चित्रहरू सङ्ग्रहित छन् । एकताका वाणिज्य कलामा (ब्लक, लोगो, पोष्टरलगायत) समेत सक्रिय देखिएका उनी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक, पुरस्कार र सम्मानका विजेता हुन् । नेपालकै पहिलो जागिरे कलाकारका साथै सूचना विभागबाट अवकाशप्राप्त कलाकार अधिकृत हुन् उनी ।
अमात्यलाई कला कर्म सँगसँगै लेखनमा पनि रुचि छ र थुप्रै कला पुस्तकहरूको सम्पादक भएर पनि काम गरेको र आफै प्रकाशक भएर पुस्तक निकालेको अनुभव पनि सँगालेका छन् उनले । उनका विविध विषयमा २० थानभन्दा बढी पुस्तकहरू प्रकाशन भैसकेका छन् । सोह्रखुट्टे, कालधारास्थित निवासमा उनको कला स्टुडियो छ । एक निजी ग्यालरी पनि छ । त्यहाँ सदैव उनी कलामा तन्मय अवस्थामा भेटिने गर्छन् । मैले भेट्दा उनी नयाँ प्रदर्शनी गर्न र पुस्तक प्रकाशन गर्न व्यस्त देखिन्थे ।