ताप्लेजुङ / रामनवमीको सुरुवातसँगै प्रशिद्ध तिर्थस्थल पाथीभरामा तिर्थयात्रीको अधिक भीड लागेको छ । माथिल्लो फेदी प्रहरी चौकीका अनुसार आज ११ हजार हाराहारीमा तिर्थयात्रीले दर्शन गरेका छन् । यसको यकिन तथ्याङक निकाल्ने कार्य भइरहेको छ ।
एउटै टोली ८ देखि १ सय ११ जनाकोसम्म गएको प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले बताए । आज शनिबार समेत भएकाले बिहान साढे ३ बजेनै तिर्थयात्री मन्दिरमा पुगेको थिए ।
व्यवस्थापनका लागि नेपाल, सशस्त्र प्रहरी र समितिले खटाएका स्वयम्सेवक खटिएका छन् । मन्दिरको पहिलो प्रवेशद्धारसम्म लाइन लगाइएको थियो । “विहान साढे ३ बजेदेखि दर्शनार्थीहरु आएर पूजाआजा गर्नुभयो । हिजो अस्तीको तुलनामा दैनिक दर्शनार्थीको सख्यां बढ्दै छ ।”– पाथिभराका पूजारी डिल्ली आर्चायले भने । रामनवमीको सुरुवाती दिन भएकाले पहिलो दिन नै अत्याधिक भक्तजन आएका कारण व्यवस्थापनमा समस्या भएको कर्मचारी दुर्गा दाहालले जानकारी दिए ।
दर्शनका लागि शनिवार पाथिभराको मुख्य प्रवेशद्धारदेखि नै लाइन रहेको थियो । शनिवार पनि दर्शनका लागि गइरहेका छन् । यसैबिच तिर्थयात्री लिएर काफ्लेपाटी पुगेका सवारीको पार्किङमा समस्या भएको छ । सानो ठाउँ तथा सवारी र मानिसको चाप अत्याधिक भएकाले अस्तव्यस्त बनेको काफ्लेपाटीका होटल व्यावसायी देउमान लामाले बताए । त्यहाँ हिजो बेलुका र आज बिहानसम्म १ सयको संख्यामा सवारी सडकमै पार्किङ गरि राखिएको थियो ।
माथी पार्किङ नहुँदा तल भालुगौंडे छेउसम्मै सडक छेउमा गाडी राख्न बाध्य भएको व्यावसायीले बताएका छन् । पानी परेपछि देउराली काफ्लेपाटी सडकखण्डसमेत हिलाम्मे बनेको छ । यता फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले पार्किङ र सडकका लागि जेसीभी पठाइएको बताए । नगरपालिकाको जेसीभीले पार्किङस्थल बनाउने र बिग्रिएको सडक स्तरोन्नति गर्ने उनको भनाई । ताप्लेजुङको माथिल्लो क्षेत्रमा शनिवार भारी हिमपात समेत भएको छ ।