भद्रपुर / कोभिड–१९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारीका विषयमा झापामा छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार अपरान्ह जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी पूर्वतयारीका विषयमा छलफल गरी केही निर्णय गरेको हो ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकले पन्ध्रवटा पालिका, राजनीतिक दल,गैह्रसहकारी महासङ्घ, प्रहरी, प्रशासन, सञ्चारकर्मी, स्वास्थ्यकर्मीहरूको रायसुझावका आधारमा सङ्क्रमणको पूर्वतयारीका बारेमा निर्णय गरिएको छ ।
बैठकले गरेको निर्णयअनुसार प्रत्येक पालिकामा कम्तिमा एकवटा आइसोलेसन कक्ष स्थापना गर्नुपर्ने, सो कक्षमा चाहिने आवश्यक सामग्री पालिकाको विपद् व्यवस्थानमा विनियोजित रकमबाट खरिद गर्नुपर्ने, सभा सम्मेलन बन्द गर्ने, सबै अस्पतालमा आइसोलेसन कक्षको व्यवस्था गरिनु पर्ने, पालिकाले थर्मामिटर खरिद गरी प्रत्येक विद्यालयलाई उपलब्ध गराउनु पर्ने, बिर्तामोड बसपार्कमा भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिने लगायतका निर्णय गरेको छ । गरेका निर्णयहरूलाई सबै पालिकामा जिल्ला प्रशासनले पत्राचार गरिने जनाइएको छ ।
बैठकमा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चांैलागाईंले कोरोना भाइरसका बारेमा हालसम्मको तथ्याङ्क सार्वजनिक गरेका थिए । बिहीबारसम्म विश्वभर ९० हजार ६ सय ७० जनामा सङ्क्रमण देखापरेको छ भने ३ हजार ३ सय १२ जनाको ज्यान गइसकेको उल्लेख छ । हालसम्म ७२ देशमा सङ्क्रमण देखिएकोमा २१ गतेसम्म नेपालमा ४ सय ३३ जनामाथि गरेको परीक्षणमा चीनबाट आएका १ जनामा फेला परेको उनले जनाए । सङ्क्रमणबाट बच्न २० सेकेण्डसम्म मिची–मिची साबुन पानीले हात धुने बानी बसाल्ने, मास्कको प्रयोग गर्ने, बढी भीडभाडमा नजानेलगायत सावधानी अपनाउन उनले अनुरोध गरे ।
बैठकमा रेडक्रस झापाका सभापति लोकराज ढकालले स्वास्थ्यकर्मीसमेत त्रसित देखिएकोले स्थानीय तहले रकम छुट्याएर आवश्यक सामग्री खरिद गर्नुपर्ने बताए । आइसोलेसन कक्षका लागि कलवलगरी प्रशिक्षण केन्द्र, चन्द्रगढीका खाद्य गोदाम, सामुदायिक वनका भवन उपयुक्त हुने उनले सुझाव दिएका थिए । मेची अञ्चल अस्पतालका मेसु पितम्वर ठाकुरले सङ्क्रमण देखाप¥यो भने राख्ने ठाउँ नभएको, बिरामी तथा चिकित्सकलाई आवश्यक पोसाक नभएकोले आइसोलेसन भनाइ र व्यवहारमा फरक रहेको बताए । कार्यक्रममा पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखले पालिकाले सङ्क्रमण रोकथामका लागि सञ्चालित अभियानहरू सार्वजनिक गरेका थिए भने राजनीतिक दल, सञ्चारकर्मीलगायतले सुझाव तथा जिज्ञासा राखेका थिए ।
छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका सङ्क्रमित बिरामी देखापरेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थललगायत भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन जारी गरेको छ । झापा प्रशासनले भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालय परिसर, मेचीनगर, भद्रपुरमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरेको छ । भारतसँग सिमाना जोडिएको झापा जिल्ला १ सय ४४ किलोमिटर खुल्ला सीमा रहेकोले भारतबाट कोरोना भाइरस भित्रिने उच्च जोखिम भएका कारण सतर्कता अपनाएको हो ।
सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक
कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीको रूपमा फैलिरहेको भन्दै यसबाट बच्न भारतको सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
कोरोनाबाट आफ्नो राज्यको नागरिकलाई बचाउन सिक्किम सरकारले बिहीबारदेखि नै सबै इनरलाइन परमिट रद्द गरेसँगै विदेशी नागरिकको प्रवेशमा पूर्णरूपमा रोक लागेको छ । बुधबार राज्यको सचिवालय टासिलिङमा बसेको उच्चस्तरीय बैठकमा मुख्यसचिवलगायत अन्य उच्च अधिकारीको उपस्थितिमा यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । साथै नेपालसँग जोडिएको सिक्किमको सीमा क्षेत्र चिवाभञ्ज्याङलगायत राज्यका सबै नाकामा चौबीसै घण्टा निगरानी टिम खटाउने निर्णयसमेत राज्य सरकारले गरेको छ । सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्माले कोरोना भाइरसलाई सिक्किम छिर्न नदिनका लागि यस्तो सुरक्षा व्यवस्था लागू गरेको जानकारी दिएका छन् ।
त्यस्तै भुटानमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भुटान सरकारले दुई हप्ताका लागि विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ । भुटानमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको छ । भुटान घुम्न गएका अमेरिकी नागरिकमा कोरोना भाइरस देखा परेपछि भुटान सरकारले सजगता अपनाउँदै यस्तो निर्णय गरेको हो ।
यता सिक्किम राज्य सरकारले विदेशी नागरिकमाथि रोक लगाएपछि पश्चिम बङ्गालको सिलिगुडी बस पार्कमा सिक्किम घुम्न आएका पर्यटक अलपत्रमा परेका छन् । नेपालसहित भुटान, बङ्गलादेशलगायतका पर्यटकहरू सिक्किम घुम्न जान नपाएपछि दार्जिलिङतर्फ गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।