सङ्खुवासभा / कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले सभा, सम्मेलनजस्ता धेरै मानिस भेला हुने कार्यक्रममा रोक लगाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम स्थगित भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको मनकामना रत्न–अम्विका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव तथा हीरक महोत्सव उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीको उपस्थिति रहने कार्यक्रम थियो ।

कोरोना सङ्क्रमण नेपालमा समेत फैलन सक्ने अवस्था भएपछि सरकारले सभा, सम्मेलनजस्ता कार्यक्रममा रोक लगाएपछि आगामी फागुन २९ गते राष्ट्रपति भण्डारी आउने कार्यक्रम स्थगित गरिएको मनकामना माविका प्रधानाध्यापक कुवेरप्रसाद भेटवालले जानकारी दिए । मनकामना विद्यालयको ६१ औं वार्षिकोत्सव तथा हीरक महोत्सव गत माघ १५ भए पनि राष्ट्रपतिको समय व्यस्तताका कारण सर्दै आएको थियो । राष्ट्रपति भण्डारी विद्यालयको महोत्सवमा सहभागी भएपछि पूर्वको चर्चित धार्मिकस्थल मनकामना र योगमायाले देह त्याग गरेको स्थान भोजपुरको षडानन्द नगरपालिका–१ मझुवाबेंसीसमेत पुग्ने कार्यक्रम तय भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले जिल्लाका १० वटै स्थानीय तहमा राखिएको औपचारिक कार्यक्रम सभा, सम्मेलनजस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाल दुलालले बताए । खाँदबारीमा शुक्रबारदेखि सञ्चालन हुने खाँदबारी नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड रोकिएको छ भने पाँचखपन नगरपालिकामा पनि शुक्रबारबाटै आयोजना गरिएको मेयर कप खेलकुद प्रतियोगितालगायत होली विशेष विभिन्न कार्यक्रमहरू समेत रोकिएको छ । भोटखोला गाउँपालिका चीनसँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरिसकेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि चीनले गत माघ ५ गतेदेखि अनिश्चितकालका लागि उत्तरी क्षेत्रको किमाथाङ्का नाका बन्द गरिसकेको छ ।