पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संविधानमा महिलाका हक अधिकार लेखिएपनि सवैकुरा व्यवहारमा लागू हुन भनें समस्या भइरहेको बताएकी छन् ।

११० औं अन्तरराष्ट्यि श्रमिक महिला दिवशको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश, जिल्ला र पथरीशनिश्चरे नगर समितिको संयुक्त आयोजनामा पथरीशनिश्चरेमा आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनले सो कुरा बताएकी हुन् । उनले महिला अधिकार पूर्ण रुपमा लागू भएर सम्मानजनक अवस्था नहुनमा पुरुषको मात्र दोस नभई संस्कार र सोचको दोष रहेको जनाइन् । उनले भनिन् ‘आसन र भाषणमा मात्र महिला भएर हुँदैन, शासनमा महिला हुनुपर्छ ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव अग्नी पौडेलले महिला अधिकार व्यवहारमा लागू गर्नुपर्ने तथा सामुदायिक वनमाथि तेहेरो कर लगाउन नहुने विचार राखेका छन् । उनले सामुदायिक वन स्थानीय तहको मातहतमा रहनुपर्ने जिकिर गरे ।

सो अवसरमा, महासंघकी प्रदेश सचिवालय सदस्य रेणुका दहाल, मोरङ जिल्ला उपाध्यक्ष सुभद्रा भट्टराई, मिक्लाजुङकी सीता गजमेर, उर्लावारीका अमृतबहादुर वस्नेत, पथरीशनिश्चरेका काबुलबहादुर मगर सहितले मन्तव्य तथा हेमकला ओझा र बालकृष्ण अधिकारी सहितले कविता वाचन गरेका छन् ।