पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका–८ सुर्केनागीका मनप्रसाद कुरुम्बाङ लिम्बू ८२ वर्ष पुगे । उनकी श्रीमती बुधमती (नेम्बाङ) कुरुम्बाङ लिम्बू ७० वर्ष पुगिन् । लिम्बू समाजमा व्यक्तिको मृत्युपछि पार्थिव शरीरलाई खाल्डो खनी विधिपूर्वक पुरेर चिहान बनाउने प्रचलन छ ।

सामान्यतया व्यक्तिको मृत्युपछि मात्र चिहान बनाइन्छ । तर यी दम्पतीले भने मृत्युअघि नै आफ्नो चिहान बनाइसकेका छन् ।
कुरुम्बाङ दम्पतीले घरदेखि करिब तीन सय मिटर टाढा आफ्नो लागि चिटिक्कको चिहान बनाएका छन् । चिहानलाई माथिबाट जस्ता पाताले छाएर सुरक्षित गरेका छन् । बेलाबखत चिहानको सरसफाइ गरिरहन्छन् मनप्रसाद र बुधमती चिहानभित्र पार्थीव शरीर राख्ने दुईवटा छुट्टाछुट्टै खुला भाग राखिएको छ । मृत्युपश्चात् यिनै खुला भागमा मनप्रसाद र बुधमतीको पार्थिव शरीर राखिनेछ । चिहानभित्र पार्थिव शरीर राख्नलाई दुईवटा मात्र खाली भाग भए पनि चिहानको आकार भने तीन वटा बनाइएको छ ।

यसको कारण भने अर्कै छ । मनप्रसादको १४ वर्षको उमेरमै मागीविवाह भएको रहेछ, तेह्रथुम पोक्लाबाङकी दुलहीसँग । जेठी श्रीमतीको २०४८ सालमा निधन भएपछि मनप्रसादले पाँचथर फाल्गुनन्द–२ इम्बुङकी बुधमतीसँग दोस्रो मागीविवाह गरे । त्यतिबेला जेठी श्रीमतीको अन्त्येष्टि अर्कै ठाउँमा गरिएको थियो । त्यसैले जेठी श्रीमतीको नामको पनि एउटा चिहानको आकार बनाएका हुन् उनले । ‘कान्छी श्रीमती र म त सँगै रहन्छौं, जेठी श्रीमतीको नाम पनि किन हराउने भनेर तीन वटा चिहानको आकार निकाल्न लगाएको हुँ ।’
जिउँदो छँदै चिहान बनाएपछि मनप्रसादले गाली पनि खानुप¥यो ।

नमरी चिहान बनाउनु ठीक होइन भनेर केहीले टिप्पणी गरे । केहीले भने उनको कार्यलाई ठीकै हो भने । जिउँदो छँदै चिहान बनाउनुको कारण पनि खोले उनले, ‘मरेपछि मान्छेलाई पुरेको र जलाएको देख्दा केही केही ठाउँमा साहै्र दुःख लाग्यो ।’ उनले थपे, ‘राम्रो गरी नपुर्ने र नजलाउने गरेको देख्दा मेरो मन रोयो, त्यसैले मरेपछि मेरो र श्रीमतीको पनि त्यस्तै हालत हुने सम्झेर मर्नुअघि नै चिहान बनाएको हुँ ।’

जीवन कसैको पनि चीरस्थायी छैन । जन्मेर एकदिन सबैले मर्नैपर्छ । तर मरेपछि पनि सुरक्षित र सफा ठाउँमा श्रीमान्–श्रीमती सँगै रहन पाउँ भन्ने मनप्रसादको इच्छा छ । त्यसैले एक लाख १२ हजार ८० रुपैयाँ खर्च गरेर तीन वर्षअघि चिहान बनाएको मनप्रसादले बताए । मर्नुअघि चिहानमा बिजुलीबत्तीसमेत जोड्ने उनको इच्छा छ । बाबु–आमाको इच्छालाई पूरा गर्न दाजुभाइ मिली बाबु–आमाको चिहान बनाउन सहयोग गरेको मनप्रसादका कान्छा छोरा याम कुरुम्बाङले बताए ।