पथरीशनिश्चरे / विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतामा समेत मानिसहरुको मृत्यु भइसकेको अवस्थामा भारतसँग सिमाना जोडिएको नेपालको सिक्टी र बरडंगा नाकामा भनें खुला आवत भइरहेको पाइएको छ ।
कोरोना भाइरस रोकथामका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको राष्ट्रिय युवा संघ नेपालले भारसँगको सिमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने क्रममा त्यस्तो अवस्था फेला परेको हो । संघका केन्द्रीय सदस्य विजय डाँगीले मोरङस्थित सुनवर्षीको नगरपालिकाको सिक्टी नाका र रतुवामाइ नगरपालिकाको बरडंगा नाका क्षेत्रमा आवत जावत खुला रहेको पाइएको बताए ।
रंगेली नजिकको नाकामा भनें स्वास्थ्यकर्मीले चेकजाँच गरेको पाइए पनि सिक्टी र बरडंगामा स्वास्थ्य जाँच गर्ने कुनै टोली नरहेकाले मानिसहरुको निर्वाध आवत जावत भइरहेको उल्लेख गरे । शनिवार सो क्षेत्रमा सचेतनाका लागि टोली पुगेको थियो । आइतबार समेत सोही अवस्था रहेको जानकारी आएको डाँगीले उल्लेख गरे ।
‘त्यहाँ त्यस्तो अवस्था पाइएपछि हामीले स्वास्थ्य जाँच गर्न तथा नाकामा आवत जावत तत्काल रोक्न गृह मन्त्रालय र स्वास्थ्य तथा वातावरण मन्त्रालयमा फोनमार्फत जानकारी गराएका छौं ।’ – उनले ब्लाष्टसँग भने । साथै स्वास्थ्य तथा वातावरण मन्त्री भानुभक्त ढकाललाई देशैभरीका स्वास्थ्य संस्थाहरु विदाको दिनमा समेत गरी २४ घण्टा नै खुल्ने वातावरण वनाउन माग गरिएको सुनाए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई समेत परिचालन गरी कोरोनाको आशंका भएका अधिक ज्वरो आएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा जानका लागि जानकारी गराउन लगाउनु पर्ने उल्लेख गरे ।
संघको टोलीले सिमावर्ती क्षेत्रमा कोरोनाको सचेतनाका लागि पर्चा वितरण गर्दै भिडभाड नगर्न तथा खुला रुपमा हिँडडुल नगर्न, साबुनपानीले हात धुन सचेत गराउँदै अनिवार्य माक्सको प्रयोग गर्न सुझाव दिएको छ । सो अभियानको नेतृत्व संघका केन्द्रीय सदस्य डाँगी र राष्ट्रिय युवा संघ नेपालका मोरङ संयोजक नविन पौडेलले गरेका थिए ।
हालसम्म संघले जनचेतनामूलक पर्चा पम्लेट बाँढ्दै पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रतुवामाइ नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, बेलबारी नगरपालिका, केराबारी र कानेपोखरी गाउँपालिकाका सर्वसाधारणलाई सचेत बनाउने अभियान सञ्चालन गरिरहेको छ ।