धरान । स्थानीय सरकारले राहत वितरणमा एकद्वारा प्रणालीलाई अवलम्बन गरिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित संघीय तथा प्रदेश सांसद्ले उक्त प्रणालीको उल्लङ्घन गरेकोप्रति नेपाली कांग्रेस धरान नगर समितिले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस धरान नगर समितिले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश सांसद्ले एकद्वार नीतिलाई अवज्ञा गरेकोप्रति आपत्ति प्रकट गरेको हो । धरान उपमहानगरले सर्वदलीय, सर्वपक्षीय बैठकमार्फत् फुड बैंक स्थापना गरेर राहत वितरण गरिरेहेको अवस्थामा सांसद्हरूबाटै नियम उल्लङ्घन गरिनु आपत्तिपपूर्ण रहेको नगर समिति सचिव युवराज शङ्करले विज्ञप्तिमा उल्लेख गरेका छन् । संघीय तथा प्रदेश सांसद्ले आयस्रोतसमेत नखुलाई स्थानीय सरकारसँग कुनै समन्वय र जानकारीबिना विभिन्न वडामा राहत वितरण गरिनु एकद्वार प्रणालीको धज्जी उडाएको उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नेकपाबाट निर्वाचित भएका संघीय सांसद् जयकुमार राई, प्रदेश सांसद् भीम आचार्य, सावित्रा श्रेष्ठलगायतले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तहलाई जानकारी नगराई नै विभिन्न मितिमा राहत वितरण गरेका थिए । नेपाली काङ्ग्रेस नगर समितिले कोरोना महामारीका बेला गरिएको यो कार्य अराजनीति चरित्र रहेको टिप्पणी गरेको छ । सत्तारुढ दलबाट निर्वाचित भएका सांसद्हरूको भोट माग्ने खाल्को क्रियाकलाप भएको विज्ञप्तिमा टिप्पणी गरिएको छ ।

धरान सरकारलाई एकद्वार नीतिबाटै राहत संकलन र वितरण गर्न कांग्रेसले अनुरोधसमेत गरेको छ । महामारीको परिस्थितिमा खट्ने सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी एवम् कर्मचारीलाई धन्यवाद ज्ञापन गरेको छ ।