समाज र समुदाय चेतनाको परिवर्तित रूप हुन् । मानव सभ्यता सुरु हुँदा आजको जस्तो उन्नत समाजको परिकल्पना गरिएको थिएन । मान्छे नाङ्गानाङ्गै हिँड्ने र जे भेट्यो, त्यही खाने अवस्थाबाट आजको अवस्थामा आइपुग्नका लागि हजारौं, लाखौं वर्ष लागेको छ । यसका लागि समाजमा रहेका ठालु तथा विद्वानहरूको अहम् भूमिका छ । उन्नत समाज निर्माणको यो मोडमा आइपुग्दा पनि हाम्रा चेतनाका स्तरहरू पश्चगमनतर्फ नै उद्यत छन् ।
आज पनि हाम्रो समाजमा भए गरेका गम्भीर अपराधहरूलाई संरक्षण गर्न तथा त्यसलाई लुकाउनका लागि ठालु तथा जानकार समूह नै बढी सक्रिय भएर लागिरहेका पाउँछौं । गाउँघरमा कुनै गम्भीर खालका अपराधहरू जस्तैः बलात्कार, चोरी, कर्तव्य ज्यानजस्ता घटना भएमा हामी अपराधीलाई संरक्षण गर्न भरसक प्रयास गर्छौं ।
अझ बलात्कारजस्तो सङ्गीन अपराधमा पनि हामी घटनाहरू लुकाउन भरमग्दुर प्रयास गर्छौं । गाउँघरमै मिलापत्र गराउन सके हामी आफूलाई निकै भाग्यमानी सम्झिन्छौं । तर, करणीजस्तो जघन्य अपराधमा मिलापत्र गर्नु अर्को अपराध हो भन्ने कुरा चाहिँ हामी चटक्कै भुलिदिन्छौं । जसको परिणाम हाम्रो समाजमा यत्रतत्र देखिँदै आएको छ ।
बलात्कार जस्ता घटना घट्नुको सट्टा दिन प्रतिदिन बढ्दो छ । यसमा कहीँ न कहीँ हामी पनि जिम्मेवार छौं । छोरीचेलीको इज्जत जान्छ, उसको बिहा नहोला, भविष्य के होला ? यावत् प्रश्नहरू तेस्र्याएर हामी घटनालाई मिलाउनतिर अग्रसर हुन्छौं । जुन गलत अभ्यास त हुँदै हो, अपराधीको मनोवृत्तिमाथि थप मलजल गर्ने कार्य पनि हो भन्ने भुल्नु हुँदैन ।
मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि करणीको प्रयास र त्यसपछिको निर्माण भएको घटना पनि हाम्रो आम मनोवृत्तिसँग मिल्छ । बालिकामाथि जुन प्रयास भएको छ, त्यो सरकारवादी फौजदारी अपराध हो । जहाँ आपराधिक कार्य र मनसाय दुवै सक्रिय रहेको देखिन्छ । फौजदारी अपराधहरूमा आपराधिक कार्य र आपराधिक मनसायको जाँच हुन्छ । त्यही जाँचकै कारण अपराधीलाई कम र बढी सजायको भागीदार बनाइन्छ ।
गत फागुन ६ गते बालिकामाथि जहदा–१ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरबरियाले आपराधिक मनसायले गर्न खोजेको आपराधिक कार्य कुनै पनि हालतमा गाउँमै मिलापत्र गरेर छाडिदिने खालको होइन । यस घटनालाई मिलाउनका लागि मिजलेश भनिने शानदेव सरबरिया र बोका भनिने पर्शुराम सरबरियाले जुन भूमिका खेले, त्यो जबर्जस्ती करणीको दफा २१९ को (१) र (२) अन्तर्गतकै अपराध हो । जसमा कुनै पनि महिलालाई जबर्जस्ती करणी गर्नु हुँदैन र कुनै पनि महिला तथा बालिकालाई निजको सहमति बिना यौन कार्य गर्न खोजेमा त्यो जबर्जस्ती करणी हुने भनी उल्लेख छ ।
मिलापत्र गराउनका लागि भूमिका खेल्ने शानदेव र पर्शुराम यस अपराधमा मतियार हुन् । यस्ता कयौं घटना हाम्रा गाउँघरमा हुन्छ, जुन हामीकहाँ अर्थात् समाचारको विषय नै नबनी गुपचुपमै सकिन्छ । मानौं गाउँघरमा हुने यस्ता अपराधहरूमा ठालुहरूले मिलापत्रको ठेक्का नै लिएका छन् । हाम्रो समाजलाई अँध्यारो सुरुङतर्फ लाने यस्ता मतियारहरू पनि उतिकै सजायको भागीदार बन्नुपर्छ । अनिमात्रै समस्याको दीर्घकालीन हल हुँदै जाला ।
अपराध अपराध नै हो, त्यो सानो होस् या ठूलो । कानूनको अज्ञानतामा अपराध क्षम्य हुँदैन भन्ने सिद्धान्तलाई कदापि भुल्नु हुँदैन । हाम्रो समाजमा दैनिकजसो हुने घटनाहरूलाई मिलापत्रमार्फत् टुङ्ग्याउँदै जाने हो भने भोलिका दिनमा समाज कतातिर लम्किन्छ ? त्यसको पनि हेक्का समाजका ठेकेदारहरूले राख्नुपर्छ ।
हामी उन्नत समाजको परिकल्पना गरिरहेका छौं । अपराधरहित समाजको परिकल्पनामा दत्तचित्त भएर लागिरहेका छौं । त्यहीअनुसार राज्य अगाडि बढिरहेको हुन्छ । तर, समाजका अगुवा तथा ठेकेदार भन्नेहरूले नै कानून हातमा लिएर आफूअनुकूल प्रयोग गर्ने हो भने त्यसले हामीलाई कतातिर पु¥याउँछ ? हाम्रो यात्रा अग्रगमन हो, पश्चगमन होइन । नेपालमा आजको दिनमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्छ भन्ने माग भइरहेका बेला यस्ता घटनाबाट पनि सचेत हुनुपर्छ ।