आज तराईमा विशेषगरी होली पर्व मनाइने गरिन्छ । पहाडी जिल्लामा आइतबार नै होली मनाइयो । पहाडमा भन्दा तराईमा होली विशेष प्रकारले मनाउने प्रचलन छ । होली भन्ने बित्तिकै रङहरूको पर्व भनेर बुझिन्छ । एकले अर्कालाई रङ दल्ने पर्वको रूपमा रहेको होली पर्व यसपटक रङसँगै कोरोना भाइरसको महामारी पनि चुनौतीका रूपमा रहेको छ । अघिल्लो वर्ष पनि लकडाउन (बन्दाबन्दी) भएका कारण आम नेपालीले होली पर्व मनाउन पाएनन् । त्यो पीडालाई भुलाउन यस वर्ष आम नेपालीले मज्जाले नै होली मनाउने सोचेका थिए । तर, कोरोना महामारीको दोस्रो लहर आएसँगै सतर्कता अपनाउनका लागि स्वास्थ्य मन्त्रालयले निर्देश गरिसकेको छ । यता गृह मन्त्रालयले पनि नेपाल प्रहरीलाई निर्देशन गरेसँगै ७७ वटै जिल्ला मातहतका प्रहरीलाई भीडभाडमा होली नमनाउन भन्दै परिपत्र गरिसकेको छ । आइतबार पहाडी क्षेत्रमा पनि सामान्य रूपमा मात्रै होली मनाइएको छ ।

रङका कारण हुनसक्ने सम्भावित खतरा त छँदैछ, अर्कोतिर कोरोनाको डर पनि उस्तै छ । यस्तो अवस्थामा होली खेल्नु पनि आफैमा खतरापूर्ण छ । चिकित्सकहरूले हरेक वर्ष होली मनाउँदा रङका विषयमा ध्यान दिनका लागि आग्रह गर्ने गरेका छन् । केमिकलयुक्त रङले छालामा समस्या मात्रै ल्याउँदैन, क्यान्सरसम्म हुनसक्ने खतरा पनि हुने भन्दै चिकित्सकले सचेत गराउँदै आएको अवस्था छ । त्योसँगै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा वातावरणलाई समेत असर गर्ने गरेको छ । छालालाई सुरक्षित राख्नका लागि प्राकृतिक रङहरू मात्रै प्रयोगमा ल्याइनु श्रेयष्कर हुन्छ । विभिन्न रसायनका कारण त्यसले अप्रत्यक्ष रूपमा ठूलै हानि गर्ने सम्भावना प्रवल रहन्छ । अर्कोतिर भीडभाड गरेर होली खेल्दा कोरोना भाइरस सर्ने सम्भावना पनि उस्तै रहन्छ । एकले अर्कालाई निश्चित दूरीमा रहेर मात्रै होली खेल्न पनि सम्भव हुँदैन । त्यसकारण यस वर्ष पनि होली नखेल्नु नै श्रेयष्कर होला । आफै सचेत नहुने हो भने थुप्रै खालका समस्याहरूबाट जुध्नुपर्ने हुनसक्छ । त्यसका लागि सतर्कता अपनाए कोरोना भाइरसबाट बच्न सकिन्छ ।

पर्व हरेक वर्ष आउँछ । जीवन रहे फेरि फेरि पनि खेल्न सकिन्छ । स्वास्थ्यभन्दा ठूलो पर्व होइन । पर्वलाई भरसक मितव्ययी बनाउन सिक्नुपर्छ । त्यसले आर्थिक रूपमा मात्रै होइन, समग्र जीवनमा नै प्रभाव पार्छ । यस कारण पनि होली खेल्नुभन्दा परिवारमै बसेर पर्व मनाउनेतिर ध्यान दिनु आजको आवश्यकता भएको छ । अहिलेको अवस्थामा रङ पनि प्राकृतिक छैनन् । विभिन्न रसायन मिसाइएका कारण त्यसले छालालाई सिधै असर गर्छ । कथम्कदाचित मुखको माध्यमद्वारा शरीरको भित्री अङ्गमा प्रवेश गरेमा श्वास–प्रश्वास, मिर्गौला, दिमाग, न्यूरोलोजीसम्म पनि समस्या ल्याउन सक्छ । आँखामा प्रवेश गरेमा दृष्टि गुम्न सक्ने सम्भावना पनि हुन्छ । यी त भए रङका खराबी । अर्कोतिर कोरोना महामारीको यस्तो जटिल परिस्थितिमा सावधानी नअपनाउने हो भने अन्य समस्याहरू पनि निम्तिन सक्छ । त्यसकारण पनि वर्तमान अवस्थालाई मध्यनजर गर्दै फागु (होली) मनाउनका लागि आग्रह गर्दछौं र सबै पाठक, विज्ञापनदाता, शुभेच्छुकहरूमा होलीको शुभकामना ।