फरक खालको जैविक विविधता भएको झापाको जलथल जङ्गलको भित्री भागबाट सडक निर्माण गर्ने जुन तयारी भएको छ, वातावरणीय हिसाबले पनि ठीक छैन । सडकका लागि थुप्रै विकल्पहरू हुन सक्छन् । यो जङ्गलको फरक विशेषताकै कारण यहाँ विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् । तराईको जङ्गलमा फरक खालको विशेषता हुनु नौलो नै मानिन्छ । तर, त्यसको महत्व नबुझ्दा अहिले प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले झण्डै साढे १७ किलोमिटर लम्बाइको सडक बनाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बजेट अभाव हुँदा प्रभावित बनेको यो आयोजना अहिले रोकिए पनि आगामी वर्षबाट प्रारम्भ नहोला भन्न सकिन्न । हल्दीबारी गाउँपालिका–४ बडाबारी चोकबाट तारावनसम्म पुग्ने सडक भूमाफियाको चलखेलका कारण बन्न लागेको छ । जबकि अधिकारी चोकबाट जलथल जङ्गल भएर अर्को सडक सञ्चालित अवस्थामै छ । यस्तो अवस्थामा जङ्गल मासेर केही दूरीमा अर्को सडक बनाउने कार्य निन्दनीय छ । 

सडक विकासको मापक होला तर, जङ्गलको महत्व त्योभन्दा पनि बढी छ भन्ने यथार्थ भुल्नु हुँदैन । यस जङ्गलमा मसुरे कटुस, ढाल्ने कटुस, चिलाउने पूर्वी नेपालमा पाइने थाकल (साइकस पेक्टिनाटा), रामफल (डिल्लेनिया इण्डिका), लटहर (एर्टाेकार्पस चामा), ठेकीफल÷ढेंडु झुला (एल्फोन्सिया भेन्ट्रिकोसा), बाँदर झुला (उभारिया ह्यामिल्टोनी) आदि प्रशस्त मात्रामा पाइन्छ । जबकि अन्य वनहरूमा यति धेरै मात्रामा जैविक विविधता पाइँदैन । पूर्वाधारका नाममा हुने दीर्घकालीन क्षतिको आँकलन आजकै दिनमा गर्न सकिएन भने भोलि पश्चताप गर्नुभन्दा अर्को विकल्प हामीसँग हुँदैन । सडकको मापदण्ड जुन भनिएको छ, त्योअनुसार सडक निर्माण हुने हो भने धेरै बोटबिरुवा र रुखहरू कटान हुने निश्चित छ । नेपालका वन तथा जङ्गलले कार्बन सञ्चितीकरण गरेकै कारण विश्व बैङ्कले नेपाललाई पाँच अर्ब रुपैयाँ दिने तयारी गरेको छ । बैङ्कसँग गत फागुन १२ गते कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानीका लागि सम्झौता नै भइसकेको छ । कार्बनडाइअक्साइड न्यूनीकरण गरेबापत नेपालले प्रतिटन पाँच डलर भुक्तानी पाउनेछ । नेपालले सन् २०२४ सम्म पाँच अर्ब २० करोड ५७ लाख प्राप्त गर्ने अनुमान गरिएको छ । यो प्राप्त गर्ने आधार वनकै कारण सम्भव भएको हो । 

सडक कहाँ र कस्तो ठाउँमा निर्माण गर्ने भन्ने विषयमा प्रदेश सरकार पनि गम्भीर बन्न आवश्यक छ । जलथल जङ्गलको विशेषता र त्यसको महत्वलाई बुझ्न आवश्यक छ । ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई शिरोधार्य गर्नु आजको दिनमा आवश्यक छ । प्रदेश सरकारले पनि जलथल जङ्गलको जैविक विविधता बचाउनका लागि भूमिका खेल्नुपर्छ । भोलिका दिनमा ....गरिसक्यो, दैलो देख्यो भन्नेजस्तो उखान नहोस् । त्यसका लागि पनि आजैबाट संरक्षित गर्नेतर्फ पाइला चाल्नुपर्छ ।