सरकारले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरू अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारको त्यही निर्णयको पालना गर्दै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । संस्थागत विद्यालयहरूको संस्था प्याब्सनले पनि सरकारको निर्णय अक्षरशः पालना गर्ने भन्दै सबै परीक्षा स्थगित गर्ने जनाइसकेको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिरहेको र पहिलेभन्दा बढी खतरनाक रहेको भन्दै विज्ञहरूले सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्न माग गरिरहेका छन् । यस्तो बेलामा सबैले सतर्कता अपनाउनुको विकल्प छैन । यस्तो संवेदनशील अवस्थामा धरान उपमहानगरपालिकाले भने परीक्षा सञ्चालन गर्ने गैरजिम्मेवारपूर्ण निर्णय गरेको छ ।
स्थानीय सरकारको हैसियतले उपमहानगरपालिकाले धरानवासीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । अहिलेको संवेदनशील अवस्थामा धरानका अधिकांश अभिभावकहरूले परीक्षा नगर्न माग गरिरहेका छन् । किन कि विद्यार्थीहरूले आन्तरिक परीक्षा दिएको एक महिना पनि भइसकेको छैन । तर, विद्यालयका सञ्चालकहरू जसरी भए पनि परीक्षा सञ्चालन गरेर अभिभावकसँग शुल्क उठाउने ध्याउन्नमा छन् । उनै सञ्चालकहरूको प्रभाव वा दबावमा परेर उपमहानगरपालिकाले हजारौं बालबालिकाको स्वास्थ्य अवस्थालाई नजर अन्दाज गर्नु लापरबाहीको हद हो । बालबालिकाको स्वास्थ्यसँग जोडिएको यस्तो गम्भीर कुरामा निर्णय लिने बेलामा अभिभावकहरूसँग समेत कुनै सल्लाह गरिएको छैन । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि धरानमा केही दिन विद्यालय सञ्चालन भए । हाल नियमित कक्षा सञ्चालन नभए पनि कोचिङ र ट्युसनका नाममा पठन–पाठन भइरहेका छन् । कोरोना महामारीका बेला विद्यालयहरू हटस्पट बन्ने खतरा सरकारले औंल्याइरहेका बेला अनुगमन गरेर बन्द गराउनु पर्नेमा धरान उपमहानगरपालिकाले परीक्षा नै सञ्चालन गर्ने निर्णय गर्नु गलत हो । सरकारको निर्णय अटेर गरेर विद्यालय सञ्चालन गरेपछि सप्तरीमा सोमबार मात्र ११ जना पक्राउ परेका छन् । धरानमा पनि लापरबाही भएकाले जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नु आवश्यक छ ।
उपमहानगरपालिकाको यस्तो गैरजिम्मेवार निर्णयले परीक्षामा सहभागी विद्यार्थीमा कोरोना सङ्क्रमण फैलिन सक्ने सम्भावना छ । विद्यालयहरू कोरोना फैलाउन सक्ने सबैभन्दा ठूला कारक बन्न सक्छन् । किनकी विद्यालय समाजसँग जोडिएको हुन्छ । एउटा घरबाट एउटा विद्यार्थी सङ्क्रमित भएर विद्यालय पुगे त्यसबाट सारा समाजमा सङ्क्रमण फैलिन सक्छ । यस्तो अवस्थामा कुनै विद्यालयबाट कोरोना सङ्क्रमण फैलिए वा कसैको ज्यान गए त्यसको जिम्मेवारी कसले लिन्छ ? विद्यालयहरूले विद्यार्थीको स्वास्थ्य होइन, पैसालाई प्राथमिकता दिए । अनि उपमहानगरपालिकाले उनीहरूकै इच्छा अनुरूप निर्णय गरिदियो । स्वास्थ्यभन्दा ठूलो पैसा हुन सक्दैन, न शिक्षा नै हुन सक्छ । जीवन रहे, स्वस्थ भए त पढाइ र परीक्षा फेरि पनि लिन÷दिन सकिन्छ । जीवनै नरहे पढाइ र परीक्षाको के काम ? प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोमबार मात्र धरानमा १३ जना सङ्क्रमित थपिएका छन् । त्यसअघि हरेक दिन सङ्क्रमित थपिने क्रम जारी छ । सोमबार प्रदेश १ मा २ सय २ जना सङ्क्रमित थपिए । दैनिक सङ्क्रमित बढिरहेको बेला उपमहानगरको यस्तो गैरजिम्मेवार निर्णयले झनै समस्या बढाउने निश्चित छ । त्यसैले यस्तो निर्णय सच्याउनु आवश्यक छ ।