शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको दोस्रो लहरलाई लक्षित गर्दै ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था’ आएको वक्तव्य जारी गरेको छ । यो आउनुको दोष नागरिकको लापरबाही र हेल्चेक्र्याइँलाई मन्त्रालयले लिएको छ । मन्त्रालयले सर्वसाधारणलाई हेल्चेक्र्याइँ नगर्नका लागि अनुरोध गरेको छ । सरकारको यो भनाइबाट ‘महामारी नियन्त्रण’ मा हात उठाएको जस्तो देखिएको छ । आजको दिनमा करिब ६ हजारको हाराहारीमा कोरोना सङ्क्रमित नपुगी सरकारले हात उठाउनुले हाम्रो देशको स्वास्थ्य अवस्था र बेडको क्षमतालाई कुरीकुरी गरेको छ । परीक्षणका हिसाबमा जुन रूपमा सङ्क्रमित बढेको अवस्था छ, त्यसले केही समयभित्रै भयावह हुने स्थिति आँकलन गर्न कठिनाइ पर्दैन । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जसरी भनेको छ, त्यसलाई आम नागरिकले नजरअन्दाज गर्नुहुँदैन । अब हामी आफै सचेत हुने अवस्था सिर्जना भइसकेको छ । अब पनि सरकारी मुख ताकेर बस्ने हो भने भारतको स्थिति नआउला भन्न सकिँदैन । 

नेपालमा दोस्रो लहरको कोरोना महामारी आएपछि पक्कै पनि चिन्तित बन्नुपर्ने अवस्था छ । पहिलो लहरमा हामी जति सङ्क्रमित र मृत्युवरण गर्न पुग्यौं । आज स्थिति फरक छ । भारतमा त्यसबेला कोरोना सङ्क्रमित र मृत्युदर एकदमै कम थियो । आज फरक छ । यतिसम्म कि कोरोनाबाट मृत्यु हुनेहरूको शव जलाउनका लागि चिहान घर तथा घाट कम भइरहेको स्थिति छ । डराउनुपर्ने कारण यसकारण पनि छ कि भारतसँग प्रत्यक्ष रूपमा १४ सय किलोमिटर सीमा जोडिएको अवस्था छ । जहाँकहीँबाट पनि मानिसहरू नेपाल प्रवेश गर्न सक्ने अवस्था छ । अहिलेकै अवस्थालाई मध्यनजर गरेर नागरिक सचेत नहुने हो भने भोलि हामी थप जटिलतातर्फ उन्मुख हुनेछौं । त्यसको जिम्मेवारी पनि स्वयम् आफैले लिनुपर्ने अवस्था छ । त्यो हुनुको पछाडि पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइले पनि पुष्टि गरेको अवस्था छ । उनले मन्त्रालयले जारी गरेका निर्देशन तथा आदेश पालना सर्वसाधारणले नगरेकै कारणले यो अवस्था आएको खुलेर भनेका छन् । मन्त्रालय तथा सरकार थप जिम्मेवार हुनुपर्ने स्थानमा गैरजिम्मेवार रूपमा प्रस्तुत भएको अवस्था छ । मन्त्रालय तथा सरकारले बढीभन्दा बढी नागरिकलाई खोपको पहुँचमा पु¥याउनुपर्ने अवस्था छ । आजको दिनमा कुल जनसङ्ख्याको करिब ७ प्रतिशत मानिसले मात्रै खोप लगाएको अवस्था छ । ९३ प्रतिशत जनसङ्ख्या खोपको पहुँच बाहिर छन् । सरकार यो बेलामा कोरोनालाई नियन्त्रण तथा रोकथाम गर्नेमा भन्दा सत्ता जोगाउने खेलमा लागेको देखिन्छ । सरकार जनताप्रति उत्तरदायी भएको अवस्था छँदै छैन । त्यस कारण पनि नागरिक आफै सचेत हुनुपर्ने अवस्था छ । 

दोस्रो लहर आफैमा पनि खतरासिद्ध भएको अवस्था छ । आज जुन हिसाबमा सङ्क्रमित भएका छन् र त्यसमा मृत्युदरलाई केलाउँदा स्थिति भयावह छ । निको हुने प्रतिशत पनि उच्च नै छ । तर, भारतको आधारमा मृत्युदरलाई केलाउँदा त निकै डराउनुपर्ने अवस्था छ । यसकारण पनि सरकारले तोकेको मापदण्ड पूरा गर्नमा नागरिक चुक्नु हुँदैन । तर, सरकारले पनि नागरिकलाई जतिसक्दो चाँडो खोपको पहुँचमा पु¥याउन आवश्यक छ । आज भारत र चीनले अनुदानमा दिएको खोप मात्रै नागरिकले पाएका छन् । नेपाल आफैले खरिद गरेर खोप वितरण गरेको अवस्था छैन । सरकार सत्ता र कुर्सीको मोहमा लिप्त छ । अहिले पनि त्यहाँबाट बाहिर निस्कन सकेको छैन । यतिबेला जनताको जिउधनको सुरक्षा अपरिहार्य हो । संविधान मै स्वास्थ्यको हक हुने व्यवस्था छ । त्यो व्यवस्थालाई राज्यलाई अहिलेको अवस्थामा आएर चटक्कै भुल्नु राम्रो होइन । आफ्ना नागरिकलाई जसरी, जुनसुकै अवस्थामा पनि सहज उपचार पाउने व्यवस्था गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ । नागरिकले पनि कोरोनाबाट बच्नका लागि सकेसम्म सरकारले तोकेको मापदण्डलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्छ ।