उर्लाबारी । अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरणसँगै व्यवसायी र बैङ्कर्स बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा मङ्गलबार उर्लाबारीमा भएको अन्तरक्रिया कार्यक्रममा दुवै पक्षबीच दोहोरी चलेको छ ।
उर्लाबारी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै होटल पेयपदार्थ व्यवसायी सङ्घका क्षेत्रीय अध्यक्ष मनोहरि दाहालले बैङ्कले व्यवसायीसँग परामर्श नगरी मनपरी ब्याजदर असुली गर्ने र मानसिक तनाव वृद्धि हुने गरी असुलीको लागि दबाव दिने गरेको आरोप लगाएका छन । साथै दाहालले बैङ्कका प्रबन्धकहरू जग्गा कारोबारीहरूसँगको मिलेमतोमा व्यवसायीले धितोमा राखेको घरजग्गा असुलीको लागि समेत संलग्न हुने गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा एनएमबी बैङ्क उर्लाबारीका प्रबन्धक सीताराम ओझाले उक्त आरोप निराधार भएको बताउँदै बैङ्किङ क्षेत्रले वित्तीय अनुशासनको पालना गरी व्यवसायीसँगको सर्त अनुरूपको कर्जा असुली गर्दै आएको बताएका छन् । साथै प्रबन्धक ओझाले आर्थिक मन्दीले व्यवसायी मात्र नभई बैङ्किङ क्षेत्र पनि प्रभावित बनेको उल्लेख गर्दैै व्यवसायी पलायनवादतर्फ उन्मुख हुँदा धितो रोक्कामा परिवारले हक दाबीको मुद्दा दायर गरेर अनावश्यक कानूनी झञ्झट व्यहोर्नु पर्ने अवस्थासमेत आएकोले बताएका छन् ।
सो सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खरेलले व्यवसायीले उद्देश्य अनुरूप लगानी गरे पलायनवाद नहुने बताउँदै पसल सञ्चालनको लागि कर्जा लिएर शेयर बजार र हाउजिङमा लगानी गर्दा व्यवसायीमा समस्या आएकोले नगरले चाँडै यस विषयमा छलफल गर्ने योजना रहेको बताएका छन् ।
कार्यक्रममा अधिकांश व्यवसायीहरूले बैङ्कले कर्जा लगानी नगरेको, कर्जाको ब्याजदर उच्च गरेको, ओडी कर्जा बन्द गरेकोलगायतका गुनासाहरू राखेका छन् । अध्यक्ष भण्डारीले व्यवसायी र बैङ्कर्सबीचको सम्बन्धलाई प्रभावकारी बनाउने सहज किसिमबाट कर्जा प्रवाहको वातावरण निर्माणको लागि कार्यक्रमको आयोजना गरेको बताएका छन् । नगरमा ३ हजार बढी व्यवसायी र दुई दर्जन बैङ्कले बैङ्किङ सेवा पु¥याउँदै आएका छन् ।