धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ।

खानेपानी, पूर्वाधार विकास, पर्यटन लगायतलाई प्राथमिकतामा राखेर शुक्रबार धरानको ११औं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२ बिनियाेजन गरेकाे छ भने उपमहानगरले पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ।

प्रस्तुत बजेटमा खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाडबाट घ० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दान परिवर्तबाट व्यवस्थापन हुने अनुमान गरिएको जनाएका छन् । 

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेको नगरसभामा उपप्रमुख बेघाले  विनियोजन विधेयक प्रस्तुत गर्दै कुल बजेट सिमाकाे १८ दशमलव ६९ प्रतिशत वडाकालागि बजेट सिमा तेकिएकाे बताए । 

त्यस्तै ,मेयर कोषमा १ करोड २० लाख, उपप्रमुख कोषमा ८० लाख, पूर्वाधार, साझेदारी कार्यक्रमको लागि ७५ लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, आकस्मिक कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका अन्य खर्चतर्फ ४० करोड समेत गरी ४३ करोड ९० लाख विनियोजन भएको छ ।