धरान । सरकारले करमा कटौती गर्दै इन्धनको मूल्य घटाउने घोषणा गरेको छ ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्य घटाइएको जानकारी दिए । उनले करमा कटौती गरिएका कारण इन्धनको मूल्य घटाइएको बताए ।

मन्त्री बडुका अनुसार डिजेलमा २९ रुपैयाँ प्रतिलिटर र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाइएको छ । अब डिजेल प्रतिलिटर १ सय ६३ र पेट्रोल १ सय ७९ रुपैयाँ पर्ने उनले जानकारी दिए ।

सरकारले दुई महिनाको अवधिमा ४० रुपैयाँ मूल्य बढाएको थियो । रुस र युक्रेनको युद्धका कारण इन्धनको मूल्य बढेको भन्दै सरकार पन्छिने गरेको थियो । इन्धनको मूल्य घटाउनका लागि चौतर्फी विरोध हुँदै आएको थियो ।

मन्त्री बडुका अनुसार नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई इन्धनको मूल्य समायोजन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझावलाई आधार मान्दै सरकारले इन्धनको मूल्य घटाएको हो ।