धरान । सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा यसपटक त्रिपक्षीय भिडन्त हुँदै छ । असार २० गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा हालका वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान प्रथम उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरी उवासंघमा कुल २ हजार ९७७ जना व्यवसायीले नवीकरण गराएका छन् । संघमा वाणिज्य, उद्योग, वस्तुगत र एसोसिएट सदस्य निर्वाचित हुने व्यवस्था छ । वाणिज्यतर्फ एक हजार ५८५, उद्योगमा १ हजार ३, वस्तुगतमा १८ र एसोसिएटतर्फ ९८ मतदाता छन् । जसमध्ये एसोसिएटमा ३ पदका लागि तीनजनाको मात्रै उम्मेदवारी परेको निर्वाचन गराउने जिम्मेवारी पाएका निर्वाचन कार्यालयका प्रमुख डा. राजेन्द्र शर्माले बताए । त्यस्तै उद्योगको महिलातर्फ पनि एक जना निर्वाचित हुने व्यवस्थाअनुसार १ जनाको मात्रै उम्मेदवारी परेको उनले बताए ।
यस हिसाबमा एसोसिएट र उद्योगतर्फको महिला निर्विरोध निर्वाचित भएको मान्न सकिन्छ । तर, दाबी विरोध, उम्मेदवारी फिर्ता लिने अवधि दुई दिन रहेकाले अन्तिम नामावली प्रकाशन भएपछि निर्विरोध निर्वाचित भएको मानिने प्रमुख डा. शर्माले बताए । निर्विरोध निर्वाचित हुनेहरूले पूर्व प्रथम उपाध्यक्ष विजय श्रेष्ठ प्यानलको भएको दाबी गरेका छन् । अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका विजय श्रेष्ठले आफूलाई लोकतान्त्रिक प्यानल भनी उद्घोष गरेका छन् । श्रेष्ठ यसअघि पनि अध्यक्ष पदमा थोरै मतान्तरले वर्तमान अध्यक्ष गिरिधारी सापकोटासँग पराजित बनेका थिए । निर्माण व्यवसायी श्रेष्ठले आफ्नो उम्मेदवारी संघको बिग्रदो छवीलाई सुधार गर्ने योजनाअनुरूप आएको दाबी गरे ।
विगतका निर्वाचनमा प्रस्ट राजनीति प्यानल देखिँदै आएको भए पनि यसपटक हुन लागेको निर्वाचनमा फरक दृश्य देखिएको छ । बाम प्यानलबाट उम्मेदवारी दिएका शिवराज श्रेष्ठलाई वामपन्थी व्यापारीले नै साथ दिएका छैनन् ।
यही दाबीका साथ पूर्व अध्यक्ष अग्रवाल अगाडि आएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका अग्रवालले संघमा बढ्दो बिकृतिलाई अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसो त; हरेक पटकको निर्वाचनमा अग्रवाल अध्यक्षमा दाबेदारी रहँदै आएको थियो । यसपटक भने उनले उम्मेदवारी दर्ता गराएका छन् । यता वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले पनि आफ्नो उम्मेदवारी संघलाई सुधारसँगै नयाँ योजनाका साथ अगाडि बढ्ने रहेको बताए ।
विगतका निर्वाचनमा प्रस्ट राजनीति प्यानल देखिँदै आएको भए पनि यसपटक हुन लागेको निर्वाचनमा फरक दृश्य देखिएको छ । बाम प्यानलबाट उम्मेदवारी दिएका शिवराज श्रेष्ठलाई वामपन्थी व्यापारीले नै साथ दिएका छैनन् । पूर्व अध्यक्ष भइसकेका अग्रवालको उम्मेदवारीलाई धेरैले फरक कोणबाट व्याख्या गर्न थालेका छन् । यसपटक उवासंघमा फरक दृश्य देखिँदै छ । यस हिसाबले यसपटकको चुनाव त्रिपक्षीय भिडन्त भनेर व्याख्या गरिन थालिएको छ ।
एसोसिएटतर्फ सर्वसम्मत चयन हुनेमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह छन् । उद्योगको महिलामा स्तुती श्रेष्ठ छन् । उनीहरूले आफू विजय श्रेष्ठ प्यानलबाट विजयी बनेको दाबी गरेका छन् । यता वाणिज्यतर्फ ८ पदका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । उद्योगमा ४ पदका लागि ७ जना, वस्तुगतमा २ पदका लागि ५ जना र वाणिज्यतर्फको एक महिला पदमा दुईजनाको उम्मेदवारी परेको डा. शर्माले बताए । आइतबार दर्ता भएका उम्मेदवारी उपर दाबी विरोध र मनोनयन फिर्ता हुने जनाइएको छ । असार १४ गते साढे ३ बजे अन्तिम नामावली प्रकाशित भएपछि मात्रै निर्विरोध निर्वाचित भन्न मिल्ने प्रमुख डा. शर्माको बताए ।