विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले २७ बुँदे उपब्धि सार्वजनिक गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि मन्त्री कार्कीले आफ्नो कार्यकालका उपलब्धिहरू बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।
मन्त्री कार्कीले पहिलो बुँदामा प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरू रहने संरचनाको लागि भवन निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको बताएका छन् ।
विराटनगर महानगरपालिकाभित्र मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू र प्रदेशसभा भवन रहने गरी तथा ग्रामथान, बूढीगङ्गा र सुन्दरहरैँचाको मध्यविन्दुमा पर्ने गरी मन्त्री आवासको निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको उनले बताए ।
यसैगरी सात प्रदेशमध्ये प्रदेश नं. १ शान्ति सुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश हुन सफल भएको उपलब्धिमा समावेश गरिएको छ ।
विपन्न नागरिकलाई निःशुल्क कानूनी सहायता प्रदान गर्न बजेटको विनियोजन गरी कार्यान्वयनका चरणमा रहेको, लागूऔषधको प्रयोगलाई निरुत्साहित गर्न विभिन्न पुनःस्थापना केन्द्रलाई अनुदान दिने प्रक्रियामा रहेको, ‘सुरक्षित यात्रा, सुरक्षित सडक’ का लागि प्रविधिमैत्री सडकको निगरानी गर्न यस प्रदेशमा रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान भएकोदेखि चाँडै कोसीदेखि मेचीसम्म सिसी टिभी जडानको काम प्रक्रियामा रहेको उपलब्धिमा समावेश गरिएको छ ।
यस्तै ‘प्रहरी सुरक्षितः नागरिक सुरक्षित’ भन्ने मान्यतालाई मूर्तरूप दिन प्रदेश १ मा प्रहरीका लागि नयाँ भवनको निर्माण तथा मर्मत(सम्भारका कामले तीव्रता पाएको, गत आर्थिक वर्र्षमा १५ वटा नयाँ भवन निर्माणका साथै १ सय ४ वटा पुराना भवनलाई मर्मतसम्भारका लागि बजेट विनियोजन भई निर्माण तथा मर्मतसम्भारको काम सुरु भइसकेको जनाइएको छ ।
सीमा सुरक्षाका लागि बिओपीको स्थापना गरिएको उपलब्धिमा समावेश गरिएको छ । मन्त्री कार्कीले २०७८ कात्तिकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेका थिए ।