धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय भेला धरानमा सम्पन्न भएको छ ।

पुस २२ र २३ मा भएको केन्द्रीय भेलालाई सम्बोधन गर्दै मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले संसदीय निर्वाचनपछि देशमा फरक गतिविधि देखिन थालेको बताए । उनले ठूला दलका नेताहरू देश र जनताका लागि नयाँ संरचना बनाएर काम गर्नुपर्नेमा कुर्सीमा लिप्त भएको र पदका लागि समय खेर फालिरहेको बताए । उनले भने, ‘नेताहरू विदेशी ऋण लिएर आफ्नो सुविधामा खर्च गरिरहेका छन् । यसले देशको भविष्य खतरामा देखिन्छ ।’

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले अब मुलुक चौतर्फी विकासको मूल फुटाउनेतर्फ अघि बढ्नु पर्ने बताए । उनले सम्पूर्ण नेपालीको पहिचान र अस्तित्व महसुस हुने योजना सरकारले ल्याउनु पर्ने बताए ।

त्यस्तै लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमान्डर थाङ्साङ लावतीले देशमा असुरक्षा, सीमा अतिक्रमण भइरहँदा पनि सुरक्षा निकायहरू मौन रहेको भन्दै  देश रक्षाका लागि सबै सक्रिय हुनुपर्ने बताए ।

पार्टीका उपमहासचिव भूपेन्द्रसुन्दर लावतीले गएका चुनावपछि बजारमा अत्यधिक रूपमा महँगी बढेको, भ्रष्टाचार चुलिएको र देशमा रहेका निमुखा, गरिबलाई जीवन यापनमै समस्या भएको बताए । उनले सरकारले यसतर्फ ध्यान दिन नसकेको बताए ।

धरान–१९ स्थित हरियाली सामुदायिक भवनमा सम्पन्न भेलामा मञ्चका केन्द्रीय प्रवक्ता काजीमान ओख्राबो, केन्द्रीय सङ्गठन प्रमुख गणेश मिभक, केन्द्रीय उपकमान्डर एवम् कोषाध्यक्ष भूपाल चेम्जोङ, केन्द्रीय उपकमान्डरहरू राजकुमार लिम्बू, राजु लिम्बू, पदमबहादुर लिम्बू, अदत लिम्बूलगायतको उपस्थिति थियो ।

भेलाको अवसरमा बजारमा बढेको चरम् महँगी र देशमा बढेको भ्रष्टाचारविरुद्ध मोटरसाइकल ¥यालीसमेत आयोजना गरिएको थियो ।