प्रदेश १ मा नेकपा एमाले नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङ सक्षम एमाले स्थायी कमिटीका सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
सत्ता गठबन्धन दलका ६० जना सांसदहरूको हस्ताक्षर सहित आज ४ बजे कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसदहरू रहेका छन् ।
सरकार गठनका लागी ४७ सदस्य आवश्यकता पर्ने छ । कार्कीलाई मुख्यमन्त्री बनाउन दाबीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूसहित नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
भोलि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीको शपथ गराउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।