विजयपुर ।  जनता  समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्बासी लाई वैकल्पिक व्यवस्थापन नगरी उठाउनु संविधान विपरीत भएको बताएका  छन् ।

आइतबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष यादवले सुकुम्बासी को वैकल्पिक व्यवस्थापन नगरी उठीबास गराउन कानुन र संविधान विपरीत भएको बताएका हुन् । उनले भने, ‘वैकल्पिक व्यवस्थापन बिना जबरजस्ती सुकुम्बासी को घर टहरा हटाउनु कानुनी राज्यको बर्खिलाप हो ।’

उनले जनताको अधिकार सुनिश्चित गर्छु भनी कानुन हातमा लिएर जबरजस्ती गरिब जनताको घर उठिबास गर्नु अपराध  भएको टिप्पणी गरे । उनले वैकल्पिक व्यवस्थापन नगरी उठिबास नगर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती हटाउन गत मङ्सिर १२ गते काठमाडौँ महानगरले नगर प्रहरी परिचालन गरी डोजरसहित सुकुम्बासीको घर टहरा भत्काउनु गरेको प्रयासलाई स्थानीयले प्रतिकार गरेका थिए । पुन काठमाडौँ महानगर पालिकाले मङ्सिर २५ गतेसम्ममा सुकुम्बासी लाई वैकल्पिक व्यवस्थापनको कुनै योजना नबनाई खाली गर्न सूचना जारी गरेको छ ।

महानगरले सूचना जारी गरेको समय अवधि पुग्नै लाग्दा मोर्चाले पार्टीका अध्यक्ष सहितका नेता ,प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत भेट्न पहल गरेको छ भने तत्कालै सरकार बन्दै गरेको अवस्थामा वैकल्पिक व्यवस्थापन बिना कुनै पनि बहानामा जबरजस्त कुनै पनि बस्ती खाली गर्न नगराउन पहल गरिदिन आग्रह गरेको छ ।

सबै पार्टीहरूलाई ध्यानाकर्षण गराउन मोर्चाका अध्यक्ष कुमार कार्की, उपाध्यक्ष राजकुमार पाण्डे, बिना बज्राचार्य ,सल्लाहकार पदम बहादुर सिजापति,दल मर्दन कामी, उपाध्यक्ष लीला बहादुर मोक्तान , सुमन चौधरी , प्रवक्ता स्मिता आचार्य, काल बहादुर विकलगायतका नेताहरू लागि परेका छन् ।