विराटनगर । आलोपालोमा आफूले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सरकारमा सामेल नभएको माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागि हुने भएको छ ।
केन्द्रको निर्देशनपछि बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो ।
बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इञ्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।
बैठकले मन्त्री बनाउने ७ जनाको नाम सिफारिस गरेको बैठकमा सहभागी पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले जानकारी दिए ।
सिफारिस भएका नाममध्ये पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् ।
सिफारिसमा परेका मध्ये दोस्रो नम्बरमा रहेका चापागाइ र चौथो नम्बरमा रहेका आचार्य मन्त्री हुने स्रोतको भनाई छ । माओवादीबाट चापागाइको नेतृत्वमा सरकारमा जाने तयारी छ । बैठकले अढाई वर्षपछि फेरिने मन्त्रीमण्डलमा अहिलेका मन्त्रीलाई नदोहोर्याउने निर्णय पनि गरेको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले माओवादीलाई पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका छन् । तीन मन्त्रालय पाउँदा कृषि तथा भूमिसुधार थप हुने बताइएको छ ।
प्रदेश सरकारमा माओवादीले कम्तीमा ३ मन्त्रालयको दावी गरेको छ । तर, सरकारको नेतृत्वकर्ता एमालेले दुई वटा मन्त्रालय मात्र लिन भनिरहेको छ । त्यसबारे सहमति भएपछि मन्त्रीको नाम पठाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
नयाँ मन्त्रीहरुको शपथग्रहण शुक्रबार विहान १० बजे हुने बताइएको छ । यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । उनीहरुले मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् ।