विराटनगर । प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् । प्रदेशसभामा शनिबार भएको निर्वाचनमा ५७ मत ल्याएर दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।

नेपाली काङ्ग्रेसकी उम्मेदवार लीलाकुमारी राईले ३३ मत पाइन् । उनको विपक्षमा ५७ मत खसेको थियो । उपसभामुखमा निर्वाचित भएकी ४६ वर्षीया दनुवार उदयपुरबाट समानुपातिक सांसद् बनेकी हुन् । प्रदेश १ मा ९३ जना सांसद्मध्ये सभामुखबाहेक उपसभामुखको निर्वाचनमा ९० जना सांसद्को उपस्थिति रहेको थियो ।

सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद् अनुपस्थित रहे । जसमा उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित भए । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद् नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईं रहेकी थिइन् ।

विधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ९ को उपनियम (१) मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने र त्यसको सूचना प्रदेशसभा सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।