सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरूबीच तिक्तता बढ्दै गएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अजमल अख्तर आजादले जितेको एकवर्ष नबित्दै जनप्रतिनिधिहरूबीच तिक्तता बढेको हो । चुनावमा एउटै पार्टीको तर्फबाट टिकट पाएर चुनाव जितेर आए पनि गाउँपालिका अध्यक्ष र निर्वाचित केही वडाध्यक्षहरूबीच दूरी बढ्दै गएको छ ।
प्रवक्तासमेत रहेका ४ नम्बर वडाध्यक्ष हारुन अन्सारीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता पदबाट राजीनामा दिएसँगै अध्यक्ष र वडाध्यक्षबीच दूरी बढेको सङ्ेकत देखिएको हो । उनले अध्यक्ष आजाद र प्रमुख प्रशासकीय अधिकृतलाई राजीनामा बुझाएका छन् ।
प्रवक्ताको जिम्मेवारी दिए पनि भूमिका नदिएपछि राजीनामा दिएको वडाध्यक्ष अन्सारीले बताए । कार्यपालिकाले आफूलाई प्रवक्ता पदमा मनोनयन गरेको नौ महिना बितिसक्दा पनि हालसम्म कार्यपालिकाको कुनै पनि निर्णय सूचना र प्रगति विवरण आधिकारिक तवरबाट बाहिर ल्याउन नदिई गोप्य तवरबाट गर्दै आएको अन्सारीको राजीनामा पत्रमा उल्लेख छ । जनताको सूचना पाउने हक हनन् गरेकाले प्रवक्ता पदमा बसिरहन उचित नदेखिएकाले राजीनामा दिएको उनको भनाइ छ ।
साथै उनले अध्यक्ष आजाद सीमित व्यक्तिको इसारामा चलेको आरोप लगाए । काङ्ग्रेस पार्टीबाट दुवैजनाले टिकट पाएर जितेको स्मरण गराउँदै वडाध्यक्ष अन्सारीले गाउँपालिका अध्यक्ष आजाद र आफूबीच व्यक्तिगत रूपमा कुनै किसिमको मतभेद नभएको बताए । ‘हामीलाई जनताले काम गर्न चुनेर पठाएका छन्’ लगातार दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका उनले भने, ‘त्यसैले गाउँपालिकामा के के हुँदै छ, हाम्रा अल्पकालीन र दीर्घकालीन योजनाहरू के कस्ता छन्; यावत् विषयमा जनताले सूचना पाउनुपर्छ कि पर्दैन ?’
आफू कार्यपालिकाको सदस्य भए पनि निर्णय सार्वजनिक गर्न नदिएको उनको दाबी छ । यता अध्यक्ष आजादले प्रवक्ता अन्सारीले पूर्व जानकारीविना अचानक राजीनामा दिनु सान्दर्भिक नभएको बताए । उनले वडाध्यक्ष अन्सारीले लगाएका आरोपमा सत्यता नभएको दाबी गरे । उनले आफू निर्वाचित भएर आएपछि हरेक कुरा पारदर्शी गर्दै आएको बताए । अध्यक्ष आजादले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राजनीतिक षड्यन्त्र भइरहेकोे दाबी गरे ।
‘निर्वाचित भएको छोटो समयमै आफ्नो नेतृत्वमा शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी जस्ता जनमुखी काम गर्न थालेपछि केही व्यक्तिलाई सो कुरा मन परेको छैन’ उनले भने, ‘त्यसैले म र मेरो परिवारका सदस्यहरूलाई बदनाम गराउने उद्देश्यले राजनीतिक षड्यन्त्र भइरहेको छ ।’ उनले जनताले निर्वाचित गराएको हुँदा आफू कुनै वडाध्यक्षप्रति नभई जनताप्रति उत्तरदायी भएको बताए ।