विराटनगर । प्रदेश १ को नामकरण पहिचानको आधारमा नआउने भएपछि प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद् तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छन् ।

प्रदेश १ को नामकरणको विषयमाथि भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै बिताएकी थिइन् । उनले त्यसक्रममा पहिचानसहितको नामकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन् ।

‘पहिचानसहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढङ्गले’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरूलाई नमन गर्न चाहन्छु ।’

अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जाने भन्ने अठोट व्यक्त गर्दै उनले खोला–नाला र पहाडलाई पहिचान नचाहिएको बताइन् । ‘यो त मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किरात र लिम्बुवान प्रदेश चाहिएको थियो’–उनले भनिन् ।

संविधानसभामा साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानी यस प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा हुनुपर्ने उनले बताइन् । ‘प्रदेशको नामकरणमा पुनःविचार गरियोस्’–उनले भनिन् ।