भद्रपुर । भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठसहित ५ जनाले पार्टी परित्याग गरेका छन् ।

भद्रपुरमा शुक्रबार पत्रकार सम्मेलनमार्फत् नेकपा (एमाले) परित्यागको घोषणा गरेका हुन् । विगत ३२ वर्षदेखि एमालेमा आबद्ध श्रेष्ठसहितले पार्टीप्रति विभिन्न १८ वटा असहमति जाहेर गर्दै पार्टीबाट अलग रहने निणर्य गर्न बाध्य भएको बताएका छन् । उनीसँगै प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं. क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोद्दिन मियाले पनि एमाले परित्याग गरेका छन् । नेकपा (एमाले)मा सङ्गठित भई नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील भएर विभिन्न जनसङ्गठन, पेशागत सङ्गठन र पार्टी कमिटीहरूमा आबद्ध भएर राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनजीविकामा सुधार तथा न्याय र समानतामा आधारित सामाजिक रूपान्तरणको यात्रामा अविचलितरूपमा हिँडेको पनि ३० वर्षभन्दा बढी भइसकेको  विज्ञप्तिमा उल्लेख छ ।

२०४६ सालको आन्दोलनमा पार्टी कार्यकर्ताको रूपमा निरङ्कुश राजतन्त्र र तानाशाही शासनका विरुद्ध र २०६२/०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागी आम जनताले निरन्तररूपमा गरेको आन्दोलनबाट देशमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको अवस्था अझै अपेक्षाअनुसार सुधार हुन नसकेको जनाइएको छ । २०७४ सालको निर्वाचनमा वामपन्थी पार्टीहरू एकताबद्ध भएर करिब दुईतिहाइ नजिकको सरकार बन्न सफल भयो तर, पुनः सत्ता स्वार्थ, गुटगत स्वार्थ, नेतृत्वमा देखिएको दम्भ, घमण्ड र अहङ्कारको कारणले गर्दा एकताबद्ध नेकपा (नेपाल कम्युनिष्ट पार्टी) पुनः विभाजित भएको उनले स्मरण गराएकी छन् । 

कम्युनिष्ट नेताहरूमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार र संस्कृति देखियो । नेतृत्वको देवत्वकरण हुन थाल्यो । आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरूलाई काखी च्याप्ने र ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्ने तथ्यबाट सत्य खोज्ने र हरेक घटना एवम् परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढङ्गले विश्लेषण गर्ने कार्यकर्ताहरू भेदभाव र पक्षपातको शिकार बन्न थालेको पत्रमा उल्लेख छ । स्थानीय तह र संसदीय निर्वाचनमा समेत जनभावनाभन्दा पनि नेताहरूको आशीर्वादको आधारमा जिम्मेवारी बाँडफाँट हुन थाल्यो । समाजमा अन्याय र विभेदको विरुद्ध लड्ने पार्टीमा हामीजस्ता कार्यकर्ताहरू नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदासमेत अन्तरपार्टी सङ्घर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र यसमा देखिएका विकृति, विसङ्गति अन्त्य गर्न निरन्तररूपमा लागिपरिरहे पनि आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरूसमेत समाप्त पार्ने प्रयास भएकाले नेकपा (एमाले) बाट अलग रहने निणर्य गरेको पत्रमा उल्लेख गरिएको छ ।