विजयपुर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले प्रदेशको नामकरणमा समग्र राईहरूको भावना कुल्चिने काम भएको बताएका छन् ।
उनले आइतबार धरानमा किरात राई चाम्लिङ लिपोहोछा सेवा समाजले आयोजना गरेको दिवङ्गत श्यामकुमार राईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै ‘किरात’ शब्द समग्र राईहरूको भावना भएको बताए । उनले भने, ‘समग्र राईको भावना कुल्चिएर अघि बढ्ने काम भएको छ ।’ त्यस्तै उनले संविधानमा कमजोरीहरू रहेकाले संशोधन गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी कोसी प्रदेशसभा सदस्य विजयकुमार राईले प्रदेशको नाम कोसी हुँदैमा सदाका लागि पराजित नभएको बताए । उनले अझै पनि पहिचानवादी एक भई दुईतिहाइ बहुमत ल्याएर किरात नामकरण गर्न सकिने बताए । उनले आदिवासीबीचमा नै द्वन्द्व भएको बताए । उनले भने, ‘हामीबीचमा नै एकता देखिएन ।’ दिवङ्गत श्यामकुमार राईको सालिक प्रतिनिधिसभा सदस्य राई, प्रदेशसभा सदस्य राई, श्यामकुमारकी पत्नी नयन्द्र राई र छोरा निरज राईले अनावरण गरेका छन् ।
दिवङ्गत राईले किरात राई चाम्लिङ लिपोहोछा सेवा समाज धरान–१७ डाँडा घोपामा २ कठ्ठा जग्गा प्रदान गरेका थिए । साथै उनले धरान–१८ मा बाटो निर्माणका लागि पनि जग्गा प्रदान गरेको वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीन) ले बताए ।
सडकको नाम पनि श्याम मार्ग नै राखिएको उनले बताए । सेवा समाजका जागिरमान राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफन्तहरूले श्याम कुमारका नाममा २ लाख २ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको ब्याजबाट विपन्नहरूलाई सहयोग गर्ने र अक्षयकोष बढाउँदै जाने बताइएको छ ।