वराहक्षेत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वराहक्षेत्र नगर कमिटीले पार्टी कार्यकर्ता सँग छलफल र सुदृढीकरणको लागि मिसन ग्रासरुट अभियान सुरु गरेको छ । आइतबार पार्टीको नगर कमिटीको बैठक बसी सो अभियान थालिएको हो ।
अभियानले एमाले वराहक्षेत्र पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत् वडा तहमा सदस्यहरूको वास्तविक तथ्याङ्क, क्रियाशीलता र अवस्थाको बारेमा जानकारी प्राप्त हुने बताइएको छ भने अभियानमा पार्टीको विभिन्न भातृ सङ्गठन परिचालित हुनेछन् । कार्यक्रममा वडास्तरका सङ्गठित सदस्यहरूको मनोबल उच्च राख्न छलफल गरिएको थियो ।
यसैगरी पार्टीको सङ्गठित सदस्यता अद्यावधिक राख्न सदस्यहरूको नाम पार्टीको मोबाइल एपमा सूचीकरण गर्नको लागि फारम भराइएको नगर उपाध्यक्ष सीता भन्डारी पौडेलले बताइन् । पार्टीको केन्द्र र जिल्ला कमिटीको सर्कुलर, उदयपुर जिल्लाका केन्द्रीय सदस्य अम्विका थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय निकायको चुनावमा भएको हारको समीक्षा गरिएको पौडेलले बताइन् ।
यसैगरी चुनाव हार्नुमा अन्तरघात भएको समेत ठहर गर्दै गम्भीर छलफल गरिएको नगरसदस्य राजकुमार यादवले जानकारी दिए । कार्यक्रममा ७५ सदस्यीय नगर कमिटी र ११ वटै वडाका सदस्यहरू उपस्थिति रहेको थियो । नगरअध्यक्ष गजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र कार्कीले गरेका थिए ।