इनरुवा । अर्थविद् डा. गोविन्दराज पोखरेलले देशमा तलब, भत्ता खुवाउनसमेत ऋण काढ्नु पर्ने अवस्था आउन सक्ने बताएका छन् ।
नगरको आवधिक योजना निर्माण छलफलमा सहभागी हुन इनरुवा आएका अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्था प्रति चिन्ता व्यक्त गर्दै सो धारणा राखेका हुन् ।
पत्रकारहरूसँगको कुराकानीमा पोखरेलले भने, ‘देशमा तलब खुवाउनसमेत ऋण काढ्नु पर्ने दिन छिट्टै आउन सक्छ । जसप्रति सरकार गम्भीर हुन आवश्यक छ ।’ विकास खर्चका लागि पूरै ऋण लिनुपर्ने अवस्था आइसकेको बताएका उनले अबको केही समयपछि सरकारका लागि तलब, भत्ता र पेन्सन वितरण गर्नसमेत ऋणको खाँचो पर्ने बताए ।
उनले अघिल्लो दिन साँझसम्मको देशको आर्थिक तथ्याङ्क हेर्दा मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गैसकेको बताए । उनले ऋणको सीमा नै नरहेकोसमेत बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण भने देशको राजनीतिक अस्थिरता रहेको बताए । मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्तित देखिएका पोखरेलले नेपालका नेताहरूमा गम्भीरता भन्ने कुरा नै नरहेको बताए ।
सत्ता र भागबण्डामा घुमेको राजनीतिका कारण देशको अर्थतन्त्र दिनानु दिन सङ्कटउन्मुख बन्दै गएको उनको भनाइ थियो । उनले सरकार र मन्त्री कोही कसैमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नै नरहेको समेत बताए ।
पोखरेलले मुलुकको जटिल अर्थतन्त्र सङ्कटउन्मूख हुनुमा देशको राजनीतिक अस्थिरता र दलीय खिचातानी मुख्य कारक रहेको बताए । उनले दल र नेता स्वार्थकेन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताए । पोखरेलले समस्याबाट पार पाउन राजनीतिक स्थायित्वसँगै नियम कानून फेरबदलको खाँचो रहेको औंल्याए ।
यसैबीच अर्थविद् पोखरेल इनरुवा नगरपालिकाले आयोजना गरेको आवधिक योजना निर्माण कार्यक्रममा सहभागी भएका छन् । उनी नगरपालिकाकै निम्तोमा इनरुवा आएका हुन् ।
इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले अर्थविद् पोखरेललाई नगरको आवधिक योजना निर्माण केन्द्रित छलफलकालागि डाकिएको बताए । भण्डारीले डाक्टर पोखरेल सहितको विज्ञ टोली झिकाएर नगरपालिकाले नगर बिकासका आवधिक योजना तय गर्न लागेको बताए ।
नगरप्रमुख भण्डारीका अनुसार विज्ञ बोलाएर योजना निर्माणउपर छलफल चलाउँदा दिगो र समग्र विकासको उपलब्धि हातलाग्ने भएकाले सोही योजना अनुसार नगरपालिका अघि बढ्न लागेको बताए ।
भण्डारीले आवधिक योजनामा नगरका सबै वडा हुँदै समग्र नगरपालिकाको विकास केन्द्रित खाका तयार पारिने बताए । सोहीअनुसार सरोकारवालासहितको उपस्थितिमा विज्ञ सम्मिलित छलफल चलाएको भण्डारीले बताए ।