विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुङ्गामा आक्रमणको प्रयास भएको छ ।

मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले सोमबार आक्रमणको प्रयास गरेका हुन्  । विभिन्न कार्यक्रममा सहभागी हुन कार्की ओखलढुङ्गा पुगेका थिए ।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भञ्ज्याङमा भेला भएका संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताहरूले अवरोध गरेका थिए । सिद्धिचरण नगरको वडानम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई आन्दोलनकारीले रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

आन्दोलनकारीले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरे पनि प्रहरीले उनीहरूको प्रयास विफल बनाएको थियो । कालो झण्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झण्डा थुतेका थिए ।