धनकुटा । १ नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणको विरोधमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.१ हात्तिखर्कको पञ्चमी बजारमा रहेको वडा कार्यालयमा बिहिबार तालाबन्दी गरिएको छ ।
कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले छथरजोरपाटी गाउँपालिकको १ नम्वर वडा कार्यालय हात्तिखर्कको पञ्चमीमा ताला लगाएका हुन् । उनीहरुले कार्यालयबाट बाहिर निस्कन आग्रह गर्दै आन्दोलनकारी पुगेपछि वडा कार्यालयमा रहेको वडाध्यक्ष गोविन्द लिम्बू, वडा सचिव चन्द्र प्रसाद सुवेदी र अन्य कर्मचारीहरु सबै बाहिरिएका थिए ।
जनप्रतिनिधि र कर्मचारीहरु बाहिरिएपछि आन्दोलनकारीहरुले कार्यालयको मुल ढोकामा ताला लगाएका थिए । उनीहरुले कोशी प्रदेश लेखिएको कालो झण्डा पनि वडा कार्यालय अगाडी गाडेका थिए ।
कोशी प्रदेशको नाम खारेज नगरेसम्म निरन्तर रुपमा धनकुटामा कोशी प्रदेश नामंकन विरुद्धको आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक एवंम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताए । उनले धनकुटाको छथरजोरपाटी गाउँपालिका पहिचानको बलबाट स्थापित गाउँपालिका भएको वताउँदै चौविसे पछि यस क्षेत्रमा पहिलो पटक अभियान शुरु गरिएको वताए ।
सो अवसरमा धनकुटामा गठित संघर्ष समितिका घटकहरु किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष कमलसिं लिम्वु, संघिय लिम्वुवान मञ्चका गंगाहाङ तिगेला, जनता समाजवादी पार्टी छथरजोरपार्टीका इन्चार्ज दिपन तुम्वाहाम्फे, पहिचानवादी नेता शिव कुमार तिगेला, लगायतले तालावन्दी पछि आयोजित कोणसभालाई सम्वोधन गरेका थिए ।
आन्दोलनरत पहिचान पक्षधर वत्ताहरुले कोशी प्रदेश नाम खारेज गरेर पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको पुनः नामंकन गर्नुपर्नेमा जोड दिएका छन । उनीहरुले आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।
यसै बिच शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको कार्यालय अगाडी कोण सभा कोशी प्रदेश नामंकनको विरोध गर्दै पहिचान र ऐतिहाशिक सभ्यताको आधारमा पुनः नामंकन गर्न माग गरेका छन् ।
कोण सभामा संघर्ष समितिका संयोजक संजय सन्तोषी राई, सदस्य सचिव डम्वर खवाहाङ लगायतले सम्वोधन गरेका थिए । उनीहरुले कोशी प्रदेश नामंकन विरुद्धको संघर्षको कार्यक्रम समुदायमा आधारित भएर शान्तीपूर्ण ढंगले गर्दै जाने वताएका छन् । उनीहरुले कोशी प्रदेश नामंकन विरुद्धको कार्यक्रम किन आवश्याक प¥यो भनेर गाउँगाउँ टोलटोलसम्म सचेतना कार्यक्रम आयोजना गर्ने बताएका छन् ।