इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ ।

नेपालमा गणतन्त्र स्थापनापश्चात् पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिने शनिबार इटहरीमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यही चैत्र २० गते ‘पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मूल आयोजक समिति इनरुवा सुनसरी’ ले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको जनाइएको हो ।

इनरुवास्थित जेल फिल्डमा दिउँसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ । पूर्वका नागरिकहरूद्वारा पूर्व राजालाई अभिनन्दन गर्ने कार्यक्रममा १ हजार १ सदस्यीय मूल तयारी समिति गठन गरेर कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याइएको पूर्व शिक्षा मन्त्री केशरबहादुर विष्टले जानकारी दिए । अभिनन्दन कार्यक्रममा राजसंस्थामा विश्वास राख्ने क्षेत्र, दल, सङ्घ–सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहनुका साथै अन्य राजनैतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताएका छन् ।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा देशको अवस्था चिन्ताजनक रहेको र सबै दललाई देश विकासको लागि आह्वान गरिएको स्मरण गराउँदै उनले यस अभिनन्दन कार्यक्रम पनि कुनै राजनैतिक दल वा सङ्गठननिकट कार्यक्रम नभई सबैको साझा कार्यक्रम भएको जनाएका छन् ।

सो समितिमा नेपालको लागि नेपाली, जय राष्ट्रवादी दल, राष्ट्रिय सरोकार मञ्चजस्ता दल तथा कालु पाण्डे प्रतिष्ठान, गुरु गोरक्ष अभियानजस्ता संस्थानहरूको सहभागिता रहने सो अवसरमा जानकारी गराइयो । इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तिमा ३० देखि ४० हजारको सङ्ख्यामा जनताको सहभागिता रहने बताइएको छ । सो कार्यक्रमका लागि पूर्वराजा शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुँदै इनरुवा पुग्ने कार्यक्रम रहेको छ ।