धरान । अमेरिकावासी किरात राईहरूको साझा सांस्कृतिक संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले कोशी प्रदेशको नाम खारेज गरेर किरात प्रदेश नामकरण गर्न माग गर्दै ज्ञापन–पत्र बुझाएको छ ।
अमेरिकाको वासिङ्टन डिसीस्थित दुतावासमा पुगी नेपाली राजदूत श्रीधर खत्रीमार्फत् नेपालका प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, सभामुख तथा सांसद्हरूलाई ज्ञापन–पत्र पठाएका हुन् । संस्थाका केन्द्रीय उपाध्यक्ष कुसुम राईको नेतृत्वमा पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मिलन राई, केन्द्रीय कार्यसमिति सदस्य गणेश चाम्लिङ्ग राई र डि.एम.भि.पी. च्याप्टरका उपाध्यक्ष डा. भबिराज राई सम्मिलित एक प्रतिनिधि मण्डलले ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्रमा हठात् रूपमा इतिहास, सभ्यता र संस्कृतिलाई नामेट पार्दै ‘कोशी प्रदेश’ भनी नामकरण गरेकोप्रति गहिरो खेद व्यक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जय थुलुङ राईले जानकारी दिए । ज्ञापन–पत्रमा सङ्घीयताका तीन प्रमुख आधारहरूमध्ये एउटा प्रमुख आधार पहिचानलाई आधारमानी नेपालको मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेको प्राग्वैदिक कालीन किरात सभ्यता र संस्कृति स्थापित हुने गरी प्रदेशलाई ‘किरात प्रदेश’ नामकरण गर्न र ‘कोशी’ नाम खारेज गर्न जोडदार माग गरिएको छ ।
केन्द्रीय अध्यक्ष राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त इतिहासलाई न्याय गर्दै सबैको पहिचान स्थापित गरिनुपर्ने संविधानको मर्म र प्रदेशवासीको भावनाविपरीत गुरिल्ला शैलीमा ‘कोशी’ नामकरण गरिएकोप्रति आपत्ति जनाएका छन् । पहिचानको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका पदम लिम्बू (लाजेहाङ) प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरिएको छ ।