धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले नेताहरूले बोलेपछि पुर्याउनुपर्ने बताएकी छन् ।

नेत्रज्योति सङ्घ धनकुटाको १३ औँ साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले धनकुटामा सय बेडको अस्पताल निर्माण गर्ने भनेर धेरै नेताले स्टेजमा भाषण मात्रै गरेको आरोप लगाइन् । उनले भनिन्, ‘म नेत्रज्योति सङ्घ धनकुटालाई यो दिन्छु, त्यो दिन्छु भनेर बोल्दिनँ, बोलेपछि पुर्याउनु पर्छ, जति बोल्छु, त्यो कार्यान्वयन गर्ने प्रयास गर्छु ।’

मन्त्री लिम्बूले कुनै पनि काम गर्नका लागि प्रदेश सरकारमा ऐन, कानून, नीति नियम, विनियमहरू बने पनि कार्यान्वयन पक्ष फितलो हुनु ठीक नभएको बताइन् । उनले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा भैरहेको बजेटलाई स्वास्थ्य क्षेत्रमा चाँडोभन्दा चाँडो लगानी गर्ने गरी योजना बनाउन सचिवहरूलाई निर्देशन दिएको बताइन् ।

नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले नेपालमा आँखाको उपचारका लागि सेवा प्रदान गर्न १० हजार भोलेन्टियर्स र साढे तीन लाख कर्मचारीहरूले सेवा गरिरहेको बताए । नेत्रज्योति सङ्घ धनकुटाले सञ्चालन गरेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने धनकुटा–७ की ९९ वर्षीया समाजसेवी रुक्मिणी शाक्यलाई दोसल्ला ओढाएर कदर–पत्रले सम्मान गरिएको थियो ।