सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका अन्तर्गतका महिला वडा सदस्यहरूले आफूहरू जिम्मेवारीविहीन भएको गुनासो गरेका छन् ।

एउटै निर्वाचन प्रक्रियाबाट निर्वाचित भएर आए पनि आफूहरूले पाउनुपर्ने जिम्मेवारी नपाएको उनीहरूको गुनासो छ । अर्कोतिर नगरप्रमुख र वडाध्यक्ष भने संविधानमै वडा सदस्यहरूलाई दिने जिम्मेवारीका विषयमा स्पष्ट नभएकाले त्यस्तो देखिन गएको बताउँछन् । इनरुवा नगरपालिका क्षेत्रका मात्रै नभई जिल्लाका हरेकजसो स्थानीय तहका महिला वडा सदस्यहरूले कुनै निर्णय गर्नुअघि वा कार्यक्रम ल्याउनुअघि आफूहरूलाई प्रक्रियामा सहभागी नगराइने गरेको गुनासो गर्छन् ।

आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भोक्राहा नरसिंह गाउँपालिकाकी एकजना वडासदस्य भन्छिन्, ‘के निर्णय गरेको हुन्छ थाहा हुँदैन । हस्ताक्षर गर्ने बेलामा मात्र हामीलाई जानकारी गराइन्छ । वडामा बजेट आएको थाहा हुन्छ, तर बजेट कहाँ कसरी खर्च भयो थाहा हुन्न ।’ वडामा बैठक नै नबसी माइन्युटमा सही गराउने बेलामा मात्र सदस्यलाई खोजिने गरेको बताउँदै ती वडासदस्य थप्छिन्, ‘निर्णय प्रक्रियामा हाम्रो सहभागिता नहुने भएकाले वडाध्यक्षले आफ्नो हिसाबले व्यवहार गर्छन् । वडामा कामको बाँडफाँड छैन, जसका कारण हामीले के काम गर्ने भन्ने अन्यौल छ ।’

कतिपय स्थानीय तहका वडामा भने वडा सदस्यका त्यस्तो गुनासो छैन । कोसी गाउँपालिका वडानम्बर ८ की महिला वडा सदस्य तथा कार्यपालिका सदस्य बसिरन खातुन आफ्नो वडामा भने त्यस किसिमका समस्या नरहेको बताउँछिन् । ‘केही वडामा वडाध्यक्ष, वडासचिवले आफूहरूको कुरा नसुन्ने गरेको गुनासो मैले पनि सुनेकी छु’–उनी भन्छिन् ।

सामान्य भेटघाटका क्रममा महिला जनप्रतिनिधि र विशेषगरी वडा सदस्यहरूले आफूहरूलाई कुनै अधिकार नदिइएको र केवल नाम मात्रको जनप्रतिनिधिका रूपमा राखिएको भनी समस्या सुनाउने गरेको खातुनले बताइन् । अर्की वडासदस्य सरिता मण्डलले आफ्नो वडामा त्यस्तो केही ठूलो समस्या नभए पनि अन्य वडामा महिला सदस्यले केही जिम्मेवारी नपाउने गरेको बताइन् । अर्कोतिर वडाध्यक्ष भने जिम्मेवारी दिनेभन्दा पनि आफै जिम्मेवारी लिने र त्यसलाई बहन गर्न नसक्नु महिलाको कमजोरी भएको टिप्पणी गर्छन् ।

भोक्राहा नरसिंह वडा नम्बर ४ का वडाध्यक्ष हारुन अन्सारी महिला वडासदस्यलाई अधिकार र जिम्मेवारी नदिइएकोमा कानूनमै व्यवस्था नहुनुलाई कारण मान्छन् । ‘मैले वडाको पहिलो बैठकबाटै माइन्युट गरेर सबैलाई जिम्मेवारी दिएँ । सदस्यले पनि आफ्नो जिम्मेवारीभन्दा बाहिरको काम खोज्नुभएन । जिम्मेवारी दिइएको भन्दा बढी गर्न खोज्दा असन्तुष्टि हुने हो’–उनले भने । महिला वडासदस्यको यो समस्या कुनै स्थानीय तहका मात्रै नभई देशभरिकै स्थानीय तहको समस्या भएको वडाध्यक्ष अन्सारीको भनाइ छ । वडाका क्रियाकलाप, योजनाको अवस्थालगायतका विषयमा अध्यक्षलाई रिपोर्टिङ गर्नु, आवश्यकता अनुसार योजना ल्याउनु, नाता प्रमाणित, अदालतको म्याद टाँस जस्ता विषयमा सहयोग गर्नु सदस्यको जिम्मेवारी भएको इनरुवा नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष बसिरुद्दिन मन्सुरी बताउँछन् । सुनसरीमा १२ वटा स्थानीय तहका १ सय २४ वटा वडामा २ सय ४८ जना महिला वडासदस्य छन् । स्थानीय सरकार सञ्चालन ऐनमा नगर र गाउँसभाका सदस्यको जिम्मेवारी तोकिदिए पनि वडासदस्यको जिम्मेवारीबारे स्पष्ट गरिएको छैन ।

नगरप्रमुखलाई ध्यानाकर्षण पत्र

इनरुवा नगरपालिकाका महिला जनप्रतिनिधिलाई नगर र वडाले उपेक्षा गरेको भन्दै महिला वडासदस्यहरूले सामूहिकरूपमा विभिन्न मागसहित नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

वडाको कुनै पनि निर्णय पारदर्शी नभएको र वडाको योजना तर्जुमा समेत विधिवत् नभई आफूखुसी गर्ने वडाध्यक्षहरूविरुद्ध नगरप्रमुख केदार भण्डारीलाई प्रत्येक निर्णयमा अर्थपूर्ण सहभागिताको मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भए पनि वडाध्यक्षहरूले आफूखुसी गर्ने, बैठकमा सोधपुछसमेत नगर्ने, निर्णयमा मात्रै सही गर्न लगाउने र महिला सदस्यहरूलाई उपेक्षा गरेको आरोपसहित इनरुवाका महिला वडासदस्यहरूले नगरप्रमुख भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएका छन् । नगरका १० वटै वडाका निर्वाचित महिला सदस्यहरूले सामूहिक रूपमा ध्यानाकर्षण गराउँदै नगरप्रमुखको कार्यकक्षमै पुगेर वडाको बैठक पारदर्शी गर्नुपर्ने, प्रत्येक सदस्यहरूको नेमप्लेटसहित टेबुल र कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा प्रस्तावसहित तीन दिनअगावै पत्र दिनुपर्ने, बैठकमा आफूहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्ने, बैठक पुस्तिकामा हस्ताक्षर मात्रै गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् ।

भूमिकाविहीन नभई जनप्रतिनिधिको भूमिका निर्वाहमा जिम्मेवारी दिनुपर्ने, महिला वडा सदस्यहरूलाई योजना तर्जुमासम्बन्धी तालिम दिनुपर्ने, नगरमा महिला वडासदस्यहरूका लागि महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा कम्तीमा तीन दिनअगावै एजेण्डासहितको जानकारी पत्र दिनुपर्नेलगायतका मागसहित नगरप्रमुख भण्डारीलाई पत्र बुझाएको महिला जनप्रतिनिध सञ्जाल इनरुवा संयोजक सविना सिग्देलले जानकारी दिइन् ।

सह–संयोजक रञ्जु पौडेलका अनुसार महिला सदस्यहरूलाई कार्यवाहक दिँदा सुविधा दिनुपर्नेमा नबोलेकोले वडाध्यक्षहरू एकलौटी गर्न थाले पनि ध्यानाकर्षण पत्र बुझाइएको हो । नगरप्रमुख भण्डारीले सबै महिला सदस्यहरूलाई वडाका समस्या सोधेर वडामा रहेको समस्या समाधान गर्ने र महिला सदस्यहरूको सञ्जाललाई आफूले न्यायोचित हुने गरी सहयोग गर्ने प्रतिबद्धता गरे । नगरप्रमुखले सबै महिला वडासदस्यहरूले माग जायज भएकाले सोहीअनुसार वडागतरूपमा समस्या सम्बोधन गर्ने आश्वासन दिएका थिए ।