धरान । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको नेतृत्वमा सुरु भएको आन्दोलनको समर्थनमा धरानमा पनि प्रदर्शन हुने भएको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै शुक्रबारबाट काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको थियो । सोही आन्दोलनमा सहभागी भएर आएका धरानका युवा अभियन्ता सुमन श्रेष्ठको नेतृत्वमा धरानमा आइतबार प्रदर्शन हुने भएको हो ।
आइतबार साँझ धरानको भानुचोकमा धरानका पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी हुने अभियन्ता श्रेष्ठले बताए । उनले अभियन्ता पुनसँगकै सल्लाहमा धरानमा प्रदर्शन हुन लागेको बताए । पुनको अभियान सान्दर्भिक भएकाले दबाव बढाउन धरानमा पनि आन्दोलन सुरु गर्न लागेको उनले जानकारी दिए ।
माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने आन्दोलनको नेतृत्व गरिरहेका पुनले बताएका छन् । उनको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका नेताहरूले समर्थन जनाएका छन् । काठमाडौंमा २४ सै घण्टा आन्दोलन चलिरहेको छ । उनले प्रमुख राजनीतिक दलका नेताहरूलाई ज्ञापन–पत्र बुझाएर आन्दोलन सुरु गरेका हुन् ।