धरान । नेपाली काङ्ग्रेसले सुनसरी क्षेत्र नम्बर १ मा प्रशिक्षण अभियान समापन गरेको छ ।

काङ्ग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल र नेपाल शिक्षक सङ्घको प्राविधिक सहयोग र वडा कार्यसमितिको व्यवस्थापनमा क्षेत्र अन्तर्गतका २७ वटै वडामा बृहत् प्रशिक्षण अभियानको आयोजना गरेको हो । नेपाली काङ्ग्रेसको इतिहास, स्थापना र विकास, नेपाली काङ्ग्रेसले देश र जनताका लागि गरेको ऐतिहासिक आन्दोलन, नेपाली काङ्ग्रेस नेतृत्वमा हालसम्म भएको कार्यबारे जानकारी गराएको छ ।

नेपाली काङ्ग्रेसको विधान, नीति तथा कार्यक्रम, संस्थापक नेताहरूको जीवनी, पार्टीलाई जनता र समाजसँग जोड्न गर्नुपर्ने कार्य, सङ्गठन विस्तारमा ध्यान दिनुपर्ने विषय, पार्टीका सदस्यको आचरण र व्यवहार, पूर्वाधार विकास, सुशासनलगायतका विषयमा प्रशिक्षण दिइएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । प्रशिक्षणले पार्टी कार्यकर्ताको खस्किँदो मनोबललाई उच्च बनाउन र पार्टी जीवनमा नयाँ रक्त सञ्चार गराउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

प्रशिक्षक भई वडा–वडामा खटिएका प्रजातन्त्रवादी प्राध्यापक सङ्घ र नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षक तथा प्राध्यापकहरूले पार्टीले सुम्पिएको सान्दर्भिक र महत्वपूर्ण जिम्मेवारीलाई उत्साहपूर्वक वहन गरेको बताए । १ नं. क्षेत्रीय कार्यसमितिले शिक्षक तथा प्राध्यापकहरूलाई यसअघि नै सह–महामन्त्री बद्री पाण्डेमार्फत् प्रशिक्षित गराएका थिए ।

एकैपटक २७ वटै वडामा भएको प्रशिक्षण कार्यक्रममा विभिन्न वडामा प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति पङ्कज महतो, जिल्ला सचिव माधव घिसिङ, जिल्ला सह–सचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्यहरू पर्वत राई, जगत कार्की र नारद राईलगायतको उपस्थिति रहेको थियो ।