धनकुटा । ‘कोशी प्रदेश’ नामाङ्कन खारेज गर्नुपर्नेमा बुधबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका छन् ।

पहिचानको आन्दोलन सम्बन्धी कोशी नाम खारेजी र पुनः नामाङ्कनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो जोड दिएका हुन् । ‘इतिहास, सभ्यता, संस्कृति र भूगोलको रक्षार्थ हाम्रो, कोशी प्रदेश खारेजी गर्न जनजागरण अभियान’ भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यसत्तालाई जित्नको लागि राज्यसत्ता नै निर्माण गरेर मात्र सम्भव हुने ठोकुवा गरेका छन् ।

राज्यसत्तालाई जित्नका लागि राज्य सत्ताको हरेक संयन्त्रहरूलाई जित्न सक्नु पर्नेमा उनीहरूको जोड रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै किरात याक्थुङ चुम्लुङका संस्थापक केन्द्रीय अध्यक्ष एवम् पहिचानवादी अभियन्ता नन्द कन्दङ्वाले भने, ‘राज्यसत्तासँग सेना, प्रहरी हुन्छ, राज्य सञ्चालन गर्ने संयन्त्र हुन्छ । यसरी राज्य संयन्त्रविरुद्ध आन्दोलन गर्दा शासकहरूले विभिन्नखालका षड्यन्त्रहरू गर्छन्, यी स्वभाविक प्रक्रिया हुन् । अहिले हामी प्रदेशमा जे गरिरहेका छौँ, यसलाई दबाउन यहाँको राज्य संयन्त्रले खोज्नु स्वभाविक प्रक्रिया हो । तर, हामी राज्यसत्ताविरुद्ध राज्यसत्ताको प्रक्रिया निर्माण गर्ने अभियानबाट किञ्चित पछि हट्नु हुँदैन ।’

अहिले प्रदेशभित्र भइरहेको आन्दोलन सुरक्षा घेराभित्र भइरहेको बताउँदै कन्दङ्वाले भने, ‘किन भने यहाँ संविधान छ, कानून छ र विधि र विधानलाई टेकेर काम गर्ने आधारहरू छन् । तर, अहिले भइरहेका हरेक दिनका आन्दोलनहरू शासकहरूको घेराभन्दा धेरै बाहिरबाट भैरहेको छ, यो प्रदेश सरकारले बेलैदेखि हेक्का राखोस् ।’

त्यसैगरी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बूले प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनलाई कमजोर बनाउन सिङ्गो किरात सभ्यता र लिम्बुवानको भूगोललाई जाति हुन् भनेर यहाँको पहिचानविरोधी दलहरूले साँघुरो घेराबाट गलत व्याख्या गरिरहेको बताए । लिम्बुवान÷किरात कुनै जात नभएको र सिङ्गो सभ्यता भएको बताउँदै उपाध्यक्ष तिगेलाले भने, ‘लिम्बुवान कुनै जात होइन, यहाँ हामीले राई प्रदेश, लिम्बू प्रदेश बनाउन खोजिरहेका छैनौं ।’

डा.तिगेलाले पहिचानको आन्दोलनलाई कमजोर बनाउन विभिन्न भाष्य प्रयोग गरिएको र त्यसलाई चिर्न सक्नुपर्ने बताए । छैठौं शताब्दीदेखि लिएर पृथ्वीनारयण शाहको पालासम्म पनि अरुणपूर्वको ९ जिल्लाको भूगोलको लागि पनि लालमोहरमा लिम्बुवान नै उल्लेख भएको उनले बताए । वल्लो किरात, माझकिरात र पल्लो किरात भनेर उबेला नै सम्बोधन भइसकेको तर्क डा.लिम्बूको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति धनकुटाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय समितिका सचिव नगेशचन्द्र राई, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, कोशी प्रदेश नामाङ्कनविरुद्ध धनकुटामा गठित सङ्घर्ष समितिका संयोजक सञ्जय सन्तोषी राई, सङ्घर्ष समितिका सचिव डम्बर खेवाहाङ, किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरिया, किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष कमलसिंह लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष एवम् कोशी नामाङ्कनविरुद्ध गठित सङ्घर्ष समितिका सदस्य उद्धवमणि राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङ धनकुटाका सचिव हेमु स्मृति चोङ्वाङले गरेकी थिइन् । कार्यक्रममा जिल्लाको सहिदभूमि गाउँपालिका, पाख्रीबास नगरपालिका, छथरजोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका पहिचान पक्षधरहरूको उपस्थिति रहेको थियो ।