प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा सांसद तेजुलाल चौधरीले तराई–मधेस आन्दोलनपछि सुझाव सङ्कलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गरिन् ।

सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गरे।

सांसद निशा डाँगीले गाउँमा किसानका दूधले बजार नपाएको बताउँदै ठूला सहरमा भारतबाट दूध आयात गर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताइन् ।

सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्बन्धमा ठूला नेताका सार्वजनिक अभिव्यक्तिको सत्यतामाथि सरकारको ध्यान जानुपर्ने बताउँदै सो प्रकरणमा आरोपी सबैमाथि छानबिन गर्न माग गरे ।

सांसद बलराम अधिकारीले ऊखु किसानले मूल्य नपाएपछि आन्दोनलन गर्दै आएको र सो बेला भएको सम्झौता कार्यान्वयन नभएपछि अहिले किसानले माइतीघरमा पुनःआन्दोलन गर्नुपरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद वसन्तकुमार नेम्वाङले तमुर क्षेत्रमा ११ वर्षदेखि पुलको निर्माण भइरहेको र हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै शीघ्र निर्माणको माग गरे ।