धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मङ्चको सुनसरी जिल्ला र धरान नगर कमिटीको पदस्थापन भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)को प्रमुख आतिथ्य र केन्द्रीय उप–महासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा राजकुमार वनेम (प्रिन्स) को अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति र मोहनप्रसाद तिगेलाको अध्यक्षतामा १९ सदस्यीय धरान नगर कमिटी घोषणा गरिएको छ ।
जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सुक्वाबा, उपाध्यक्षहरूमा सरस्वती सुब्बा, कृष्ण लिङ्देन, डम्बर थक्लुङ लिम्बू, बुद्ध वनेम लिम्बू र विनोद लिम्बू चयन भएका छन् । त्यसैगरी सचिवहरूमा प्रतीक ओख्राबु, पवित्रा लिम्बू हुक्पाचोङ्बाङ र दिवस लिम्बू, सह–सचिवमा डिल्ली लुम्फुङ्वा र कोषाध्यक्षमा प्रकाश इधिङ्गो चयन भएका छन् भने बाँकी सदस्यहरू चयन भएका छन् ।
त्यसैगरी नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा धनशेर श्रेङ चोङ्बाङ, उपाध्यक्षद्वयमा टेकबहादुर हुक्पा चोङ्बाङ र रामकुमारी लिम्बू, सचिवमा छत्र लावती, सह–सचिवमा पवित्रा कन्दङ्वा र अस्मिता लिम्बू र कोषाध्यक्षमा किशोर लिम्बू चयन भएका छन् भने बाँकी सदस्यहरू रहेका छन् ।
त्यस्तै तीर्थराज मादेन, नरबहादुर चोङ्वाङ क्याक, तेजबहादुर लिम्बु र निरध्वज लिम्बू गरी चार जनालाई केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।
धरानको हरियाली सामुदायिक भवनमा भएको पदस्थापन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देनले कोशी प्रदेशको नामकरण खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलका नेताहरू नै मुछिएको भन्दै यस्तै भ्रष्टाचारका कारण सर्वसाधारण नागरिकले गरिबीको सामना गर्नु परेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं.४ का इन्चार्ज अब्बास मियाँले आफ्नो पार्टीभित्र पनि नक्कली हस्ताक्षर गरेर पार्टी सिध्याउन गिरोह सक्रिय रहेको भन्दै त्यस्तालाई कारबाही गर्न माग गरेका थिए ।