विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी बजेट अधिवेशन जेठको दोस्रो साता बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले जेठ १४ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । मन्त्रिपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएको उनले बताए ।
यस्तै बैठकले प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।