प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताएका छन् ।
यही जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको नीति कार्यक्रम माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भने, “नीति कार्यक्रमको मुख्य विषय कसरी उत्पादन बढाउने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने भन्ने हो ।”
प्रस्तुत नीति तथा कार्यक्रमले संघीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
“आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका सार्वजनिक सेवाको पहुँच र गुणस्तर, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको छ”, उनले भनेका छन् ।
सबैको साझा प्रयासबाट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै उहाँले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन सम्भव भएको बताएका छन् । नीति तथा कार्यक्रममा राष्ट्रिय आकाङ्कषा स्पष्टरुपमा प्रतिविम्बित भएका उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधिनता एवं राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरी लक्ष्य हासिल गर्ने दृढ संकल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।
—रासस