देउराली । नेपाली काँग्रेस रामधुनी नगर समितिको नगर सम्मेलनमा पार्टीको केन्द्रीय तहमा देखिएको बेथितिका बारेमा बहस भएको छ । शुक्रबार सम्पन्न नगर सम्मेलनमा पार्टीको केन्द्रीय तहमा खास गरी भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी थुनामा रहेका काँग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण र अन्य नेताहरूको नाम आइरहँदा दोषी ठहर भए कडा कारबाही हुनु पर्ने सम्मेलनमा उपस्थित नेताहरूले धारणा राखेका छन् ।
नगर सभापति सुदीप अधिकारीको सभापतित्वमा सम्पन्न नगर सम्मेलनका प्रमुख अतिथि केन्द्रीय सदस्य राजीव कोइराला, विशिष्ट अतिथि केन्द्रीय सदस्य राजीव ढुङ्गाना र जिल्ला सभापति केदार भण्डारीलगायतका नेताहरूले खुल्ला सत्रमा शुभकामना दिने क्रममा काँग्रेस पार्टी भित्र भएका बेतिथिहरूको बारेमा कुराकानी भएको सभापति अधिकारीले बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका अन्य बेतिथिका बारेमा कुराकानी भएको भन्दै दोषी ठहर भए पार्टीले कडा कारबाही गरिनु पर्ने कुरा उठेको बताए। नगर सभाको बन्द सत्रमा सभापति अधिकारीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने, सचिव दोस्तीराम चौधरीले सांगठनिक र कोषाध्यक्ष सिता फुयालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।
नगर समितिले नगर सभा सुरु हुनु भन्दा अगाडी रामधुनी नगरपालिकामा रहेको भाषी माध्यमिक विद्यालयमा सरसफाइ सामग्री वितरण गरेको सभापति अधिकरले बताए ।