
हिमालय क्षेत्रमा करोडौं वर्षदेखि भारतीय र तिब्बती भूखण्डबीच निरन्तर टकराव जारी छ। यही टकरावले गत वर्षको गोरखा भूकम्पजस्तै करोडौं वर्षदेखि विनाशकारी भूकम्प गएको हुनुपर्छ। नेपालको लिखित इतिहासमा सन् ११०० यता विनाशकारी भूकम्प बारम्बार गएका प्रमाण विभिन्न ऐतिहासिक सामग्रीमा पाइन्छन्। यस क्षेत्रमा गरिएका विभिन्न भौगर्भिक अध्ययनमा लिखित इतिहासभन्दा अगाडि गएका विनाशकारी भूकम्पको प्रमाणसमेत भेटिएका छन्। यस्ता प्रमाण विश्लेषण गर्दा नेपालको गोरखादेखि पश्चिममा विगत ५०० वर्षयता विनाशकारी महाभूकम्प गएको पाइँदैन। उक्त क्षेत्रमा महाभूकम्प (म्याग्नेच्यूड ८ भन्दा ठूला) जान आवश्यक शक्ति सञ्चित रहेको अनुमान गरिएको छ।
विसं १९९० सालमा नेपालको पूर्वी क्षेत्रमा गएको महाभूकम्पपछि गत वर्ष वैशाख १२ को गोरखा भूकम्प नेपालमा गएको सबभन्दा ठूलो तथा विनाशकारी भूकम्प हो। उक्त भूकम्पको केन्द्रविन्दु (भूकम्प उत्पन्न गर्ने भौगर्भिक दरारमा विस्थापन हुन सुरु हुने स्थान) गोरखाको बारपाकमुनि रहे पनि पश्चिममा गोरखादेखि पूर्वमा दोलखासम्म करिब १५० किलोमिटर र उत्तर-दक्षिणमा करिब ४० किलोमिटर क्षेत्रमा विस्थापन गरेको छ। यो भूकम्पको स्रोतक्षेत्र हो। स्रोतक्षेत्रमा परेका स्थानमा अन्य स्थानभन्दा तीव्र कम्पन भएकाले जनधनको बढी क्षति भएको हो।
भूकम्पको असर सबै स्थानमा एकै किसिमको हुँदैन। कुनै पनि स्थानमा भूकम्पबाट हुने असर उक्त भूकम्पको म्याग्नेच्युड, भूकम्पको स्रोतक्षेत्रबाट उक्त स्थानसम्मको दुरी, भूकम्प उत्पन्न हँदा भूकम्पको स्रोतक्षेत्रमा हुने विस्थापनको प्रकृति, मानव बस्तीमुनिको भूगर्भ तथा उक्त स्थानको टोपोग्राफीमा भर पर्छ। गोरखा भूकम्प जाँदा सबै स्थानमा एकै किसिमको असर देखिएको छैन। काठमाडौं उपत्यका बाहिरको सन्दर्भमा भन्नुपर्दा बेसीभन्दा पहाडका टुप्पामा निकै क्षति भएको देखिन्छ।
गोरखा भूकम्पको म्याग्नेच्युड ठूलो भए पनि यसबाट हुन गएको जनधनको क्षति अन्य देशमा गएका त्यस्तै प्रकारका भूकम्प र त्यसबाट भएको क्षतिसँग तुलनात्मक रूपमा कम भएको पाइएको छ। कम क्षति हुनुमा कम्पनको तीव्रता तुलनात्मक रूपमा कम थियो। यसो हुनुमा स्रोतक्षेत्रमा भएको सुस्त विस्थापन जिम्मेवार छ। गोरखा भूकम्प नेपालमा आधुनिक उपकरणहरूले भूकम्पको निगरानी गर्न थालेपछिको पहिलो विनाशकारी भूकम्प हो। यस भूकम्प तथा यसले हामीलाई उपलब्ध गराएका क्षतिको विवरण तथा उपकरणले रेकर्ड गरेका भूकम्पका डाटाले हामीलाई भूकम्प जाँदा कस्तो असर देखिने रहेछ भनी जानकारीहरू दिएको छ र भविष्यमा हामीले गर्नुपर्ने विषयमा पनि महत्वपूर्ण सन्देश दिएको छ।
नेपाल विनाशकारी भूकम्प जाने क्षेत्रमा पर्छ भनेर अब भनिरहन आवश्यक छैन। यस्ता भूकम्प गएको प्रमाण मानव इतिहासमा मात्र नभई भौगर्भिक इतिहासमा समेत प्राप्त भइरहेका छन्। विनाशकारी भूकम्प विगतमा गएको सुनेका थियौँ, वर्तमानमा हामी स्वयमले भोग्यौं। यस्ता भूकम्प भविष्यमा पनि जाने अनुमान यस क्षेत्रमा मन्द गतिमा निरन्तर भइरहेको भूविस्थापनको कारणले सजिलै गर्न सकिन्छ। हरेक भूकम्पले हामीलाई शिक्षा पनि दिइरहेको हुन्छ। भूकम्पबाट शिक्षा ग्रहण गरेर सुरक्षित भविष्य बनाउनु आजको आवश्यकता हो।
गोरखा भूकम्पको म्याग्नेच्युड बढी भए पनि कम्पनको तीव्रता धेरैले अनुमान गरेभन्दा कम भइदियो। भूकम्पको तरंग विभिन्न किसिमका तरंगहरुको सम्मिश्रण हो। सामान्यतया ठूलो भूकम्प जाँदा केन्द्रविन्दु नजिक रहेका कम तला भएका घरमा क्षति पुर्याउने खालको तरंग बलियो हुन्छ र टाढा जाँदा अग्ला घरमा क्षति पुर्याउन सक्ने तरंगहरू बलियो हुँदै जान्छन्। यसैगरी माटो तथा बालुवाको मोटो तह रहेको स्थानमा पनि भूगर्भको कारणले अग्ला घर भत्काउने तरंगहरू बलियो हुँदै जान्छन्। गोरखा भूकम्पको तरंगमा कम तला भएका घर भत्काउने खालका तरंगको कमजोर उपस्थितिले भूकम्पको स्रोतक्षेत्रमा तथा यसको नजिक भए पनि त्यस्ता घर तुलनात्मक रूपमा सुरक्षित रहे। यहाँ कम तला भन्नाले आधुनिक प्रविधि प्रयोग गरी बनाइएका तीन तलासम्मका घरलाई भन्न खोजिएको हो।
सामान्यतया चट्टानमाथि रहेका स्थानमा भन्दा माटो तथा बालुवाको मोटो पत्रमाथि रहेका स्थानमा बढी कम्पन हुन्छ। यसले त्यस्ता स्थानमा बढी क्षति हुने सम्भावना रहन्छ। गोरखा भूकम्पको समयमा काठमाडौं उपत्यकामा माटोको बाक्लो पत्रमाथि रहेका स्थानमा चट्टानमाथि रहेको स्थानको तुलनामा कम्पनको तीव्रता बढ्न नसकेको उपकरणहरूले देखाएका छन्। त्यसपछि गएका शक्तिशाली परकम्पको समयमा भने माटोमाथि रहेका स्थानमा तुलनात्मक बढी कम्पन भएको पाइयो।
वैशाखमा गएका म्याग्नेच्युड ७.८, ६.५ ६.७ र ७.३ का चारवटा भूकम्पको डाटा विश्लेषण गर्दा काठमाडौं उपत्यकामा माटोको बाक्लो तह रहेका स्थानमा थर्काइको मात्रा साना भूकम्प जाँदा भन्दा ठूला भूकम्प जाँदा कम रहेको पाइयो। उक्त विश्लेषणले काठमाडौं उपत्यकामा रहेको माटो तथा बालुवाको मोटो पत्रले हामीले सोचेभन्दा विपरित, ठूला भूकम्पको समयमा तरंगहरू ‘एम्लिफाई’ नहुने सम्भावना देखाएको छ।
गोरखा भूकम्पजस्तै विनाशकारी भूकम्प पहिले पनि गएको भए त्यस्ता ऐतिहासिक भूकम्पको अनुमान गरिएको म्याग्नेच्युड यथार्थभन्दा कम रहेको हुनसक्छ। किनभने उपकरणको आगमनभन्दा पहिले गएका भूकम्पको म्याग्नेच्युड त्यसबेला विभिन्न रूपमा संकलित क्षतिको विवरणका आधारमा अनुमान गर्ने गरिएको छ। गोरखा भूकम्पको सन्दर्भमा सुस्त विस्थापनका कारण तीव्र कम्पनको विकास नहुँदा त्यस्ता भूकम्पले क्षति कम गर्न सक्छन् र त्यस्तो क्षतिको आधारमा अनुमान गरिने म्याग्नेच्युड पनि कम भएको हुनसक्ने सम्भावना रहन्छ।
हामीले गर्नुपर्ने प्रयास
विनाशकारी भूकम्प निकै लामो अन्तरालपछि आउने पाइएकाले हाम्रा भवन तथा विकास संरचनामा पर्ने असरको अध्ययन तथा त्यसको न्यूनीकरणका लागि व्यवस्थित र वैज्ञानिक संरचनासहितको एक स्वायत्त भूकम्प अनुसन्धान केन्द्र स्थापना र निरन्तर सञ्चालनको व्यवस्था हुनु आवश्यक छ। यसरी गरिने अध्ययनले भूकम्प जोखिम अनुमान गर्न सहयोग गर्नुका साथै हाम्रा भौतिक संरचनामा पर्ने असर न्यूनीकरणमा सहयोग गर्नेछ।
भूकम्प जोखिमको अनुमान हामीसँग उपलब्ध ज्ञान, सिप, प्रविधि, भूकम्पहरूबाट हामीले प्राप्त गर्ने अनुभव र भूकम्पको डाटामा भर परेको हुन्छ। समयसँगै नयाँ प्रविधि तथा अध्ययन अनुसन्धानबाट उपलब्ध हुने नयाँ तथ्य उपयोग गर्दै समय समयमा यसको परिमार्जन आवश्यक छ। यसले भूकम्प जाँदा बढी क्षति हुने सम्भावना भएका क्षेत्र पहिचान गर्न सहयोग गर्नेछ। भूकम्पका कारण पहाडका टुप्पामा रहेका बस्तीमा बढी असर देखिएको हुँदा यसतर्फ बस्तीहरू बस्ने कार्य निरुत्साहित वा उपयुक्त र स्थानीयको पहुँच हुनसक्ने प्रकारको प्रविधिको विकास गर्न जरुरी छ।
गोरखा भूकम्प र यसका शक्तिशाली परकम्पले परम्परागत तरिकाले बनाएका सामान्य प्रकारका घरमा व्यापक क्षति पुगे पनि स्रोतक्षेत्रमै रहेका आधुधिक प्रविधि प्रयोग गरी बनाइएका कम तलाका भवन तथा संरचनामा भने कम असर परेको छ। यसर्थ कम खर्चमा सर्वसाधारणको पहुँच हुने खालको भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको विकास र उपयोग सुनिश्चित गर्न आवश्यक कानुन तथा नियमहरूको निर्माण तथा परिमार्जन आवश्यक छ।
विद्यमान भवन आचारसंहिताको समयानुकूल परिमार्जनका साथै अन्य विकास निर्माण संरचनाका लागि वैज्ञानिक निर्माण संहिता र उपयोग संहिता समेतको निर्माण हुनु आवश्यक छ। हालै भएको एक अध्ययनमा नेपालको सन्दर्भमा जलविद्युत क्षेत्रमा निर्माण हुने, भवनभन्दा फरक प्रकृतिका संरचनाका लागि निर्माण संहिताको अभाव देखिएको छ। त्यस्तो क्षेत्रसमेत समेटने गरी निर्माण संहिताको निर्माण आवश्यक छ।
भूकम्प लगायत अन्य प्राकृतिक तथा मानवकृत प्रकोप रोकथाम तथा न्यूनीकरणका लागि विद्यालय स्तरदेखि नै पाठ्यक्रममा उपयुक्त शैक्षिक सामग्री समावेश गरी अभ्यास गर्ने बानी बसाल्न आवश्यक छ।
नेपालमा अनुसन्धान कार्यमा खासै लगानी गरेको पाइँदैन जसले योग्य व्यक्ति धमाधम पलायन भइरहेका छन। यस्ता विज्ञलाई स्वदेशमै आकर्षित गर्ने वातावरणको विकास हुन आवश्यक छ।