-
Home
-
बिचार
-
तिनजुरे–मिल्केमा सरकारको ध्यान जाओस
तिनजुरे–मिल्केमा सरकारको ध्यान जाओस
- वैशाख ११, २०७३
- ब्लाष्ट खबर
धनबहादुर पुरी
गुराँसको राजधानी’ भनेर चिनिने तीनजुरे–जलजले–मिल्के (टीएमजे) क्षेत्र अहिले पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा पर्ने टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँसहरु देख्न पाइने हुँदा गुराँस फुल्ने बेलामा आन्तरिक पर्यटकहरुको घुइँचो त्यस क्षेत्रमा देख्न सकिन्छ । गुराँस फुलेको हेर्न जानेहरुको सङ्ख्या वर्षेनी बढिरहेको छ । पूर्वी तराईका जिल्लाहरुका साथै छिमेकी मुलुकहरुबाट पनि त्यहाँ गुराँस फुलेको हेर्ने जानेहरुको सङ्ख्या निकै छ । गुराँसले पर्यटकहरुलाई तान्ने काम गरिरहेकै छ । गुराँस फुलेको हेर्न जानेहरुले टीएमजे क्षेत्रमा पाथीभरा देवीको दर्शन पनि गर्न पाउने भएकाले मानिसको घुइँचो लाग्ने गरेको छ ।
तीनजुरेमा गुराँस फुलेर राताम्मे भएपछि पर्यटकको चहलपहल बढ्नु स्वाभाविक हो । अरु बेला सुनसानजस्तै हुने यो क्षेत्रमा यो समय भने गुराँस फुलेकै कारण पर्यटकीय चहलपहल बढेको छ । तेह्रथुमको वसन्तपुरदेखि होटल तथा लज दैनिकजसो भरिभराउ र मालामाल भएका छन् । खास गरेर चैतको मध्यदेखि गुराँस फुल्न शुरु हुन्छ । वसन्त ऋतुको आगमनसँगै रङ्गीचङ्गी गुराँसले सबैको मन तानिदिन्छ । तेह्रथुमको वसन्तपुरबाट शुरु हुने पदमार्गबाट टीएमजे भ्रमण गर्न सकिन्छ । त्यहाँबाट घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मङ्गलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँबायाँ गुराँस देखिन्छ । वैशाख १ गते नयाँ वर्षदेखि यस क्षेत्रमा भीडभाड नै छ । गुराँस हेर्न तराईका साथै विभिन्न ठाउँबाट समेत मानिसहरू आउने गरेका छन् । यो क्षेत्र धेरै प्रजातिका गुराँस पाइने नेपालकै सबैभन्दा ठूलो गुराँस वनका रुपमा मानिन्छ तर यहाँका सर्वसाधारणले विश्वमा अहिले बढ्दो वातावरण विनाश, उद्योग–कलकारखाना तथा सवारी साधनको चापले जलवायुमा व्यापक परिवर्तन भइरहेको अनुभव गर्न थालेका छन । यो वर्ष अघिल्ला वर्षहरुभन्दा यस क्षेत्रमा यसपालि गुराँस कमै मात्र फुलेको स्थानीय अगुवा र पुराना बासिन्दाहरु बताउँछन् । समुद्र सतहदेखि ३ हजार २ सय फिटदेखि ६ हजार ३ सय फिट उँचाइसम्म रहेको यो क्षेत्र वास्तवमै हेरौँ–हेरौँ लाग्दो छ । गुराँस नेपालकै सुन्दर प्राकृतिक सम्पदा र राष्ट्रिय पहिचान बोकेको पूmलसमेत भएकाले यस विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ । यस क्षेत्रलाई संरक्षित गर्दै यसलाई विश्वमा चिनाउनु आवश्यक छ ।
खराब बाटोघाटो
पर्यटकीय क्षेत्रका रुपमा चिनिएको यो ठाउँमा पुग्न बाटोघाटोको हिसाबले त्यति सजिलो छैन । सरकारले पर्यटन क्षेत्रमा करोडौँ लगानी गरिरहेको भए पनि यो क्षेत्रको बाटोलाई व्यवस्थित गर्न सकेको छैन । यस क्षेत्रको ग्राभेल र खाल्डाखुल्डी भएको बाटोलाई व्यवस्थित गर्दै लैजानुपर्छ । सरकारले यस क्षेत्रको बाटोलाई विशेष महत्वका साथ अगाडि बढाउनुपर्ने देखिन्छ । गर्मी मौसममा पनि चिसो हुने यो क्षेत्रमा तराईबाट पर्यटकहरु बढी जाने गरेका छन तर बाटो नै नराम्रो भन्दै फर्केनेहरुको सङ्ख्या पनि उति नै छ । तसर्थ सरकारले पर्यटकीय क्षेत्रका बाटोघाटोलाई व्यवस्थित गर्दै लैजानु आवश्यक छ ।
प्रहरी कार्यालय आवश्यक
यस क्षेत्रमा पैदल यात्रु बढी हुन्छन् । जङ्गल निकै ठूलो र बाक्लो देखिन्छ । यस्ता ठाउँमा सुरक्षाको दृष्टिकोणले पनि ध्यान पु¥याउनु आवश्यक छ । प्रहरी पोष्टहरु दिनभरिका लागि मात्र भए पनि स्थापना गर्नु जरुरी छ । पर्यटकहरुलाई असुरक्षित महसुस गर्ने नदिन नेपाल सरकारले सुरक्षाको विशेष प्रबन्ध मिलाउनुपर्ने देखिन्छ । यसो गरे आन्तरिक तथा वाह् पर्यटकहरु आनन्दित हुने निश्चित छ ।
हाम्रो यात्रा
इटहरीबाट त्यस क्षेत्रका लागि सातजना गएका थियौँ । टोलीमा होटल व्यवसायी सङ्घ इटहरीको अध्यक्ष अनुरोध थापा, खेलकुद क्षेत्रका हस्ती केशव कार्की, मित्र विक्रम घिमिरे, पत्रकार साथीहरु चेतन धमला, ध्रुव ढकाल र मनोज भुजेल थिए । अधिकांश साथीलाई हिँडेर त्यहाँ पुग्न निकै गाह्रो भयो ।